आठराई त्रिबेणी,मैवाखोला र सिरिजङ्गाले असार १० अगावै आगामी आवको बजेट ल्याउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २० । यसपटक ताप्लेजुङका केहि स्थानीय तहले असार १० गते अगावै आगामी आर्थिक बर्षका लागि नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन् ।
आठराई त्रिबेणी गाउँपालिकाले असार ८ गते आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेट ल्याउने भएको छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले असार ८ गते नीति कार्यक्रम र बजेट ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । नीति,कार्यक्रम तथा बजेटको तयारी स्वरुप अहिले पालिकाले वडातहमा पुगेर सुझाव संकलनको काम गरिरहेको जनाएको छ । यस्तै वडापालिकाले टोलबस्ति स्तरमा पुगेर नीति,कार्यक्रम र बजेटबारे छलफल गरिरहेको छ । यसअघि आठराईले नीति,कार्यक्रम र बजेट बारे जेठ २० गते सम्ममा सुझाव दिन आवह्वान समेत गरेको थियो ।
सिरिजङ्गा गाउँपालिकाले असार ८ र ९ गते भित्रमा बजेट पास र स्वीकृति गरिसक्ने कार्ययोजना तय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार गाउँसभामा पेश गर्ने आगामी आर्थिक बर्षको स्वीकृतिका लागि असार ७ र ८ गते कार्यपालिकाको बैठक बोलाईएको छ । ८ गते स्वीकृत भए सिरिजङ्गाले सोहिदिन वा भोलिपल्ट गाउँसभा अधिबेशनमार्फत बजेट पेश गर्ने छ । सिरिजङ्गाले यसअघि आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटबारे सुझाव दिन १५ दिनको समय दिएको थियो भने वडापालिकाको आवह्वानमा योजना छनौट तथा बजेट बारे सुझाव लिने कार्य गरेको थियो ।
अघिल्लो बर्ष असार ९ गते चालु आवका लागि बजेट ल्याएको मैवाखोलाले असार १० गते अगावै बजेट ल्याउने तयारी थालेको छ । मैवाखोला गाउँपालिकाले १० गते अगावै बजेट ल्याउने प्रयास स्वरुप जेठ २७ गते देखि नै बजेट अधिबेशन आवह्वान गरेको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम पास गरी असार १० गते अगावै बजेट ल्याउन जेठ २७ गतेबाटै बजेट अधिबेशन आवह्वान गरिएको जानकारी दिनुभयो । मैवाखोलाले पनि बजेट बारे सर्वसाधारणको सुझाव माग गरेको थियो भने टोलबस्तिमा पुगेर योजना छनौट तथा बजेट बारे सुझाव माग गरिएको थियो ।