व्यावसायिक उत्पादनमा लागे कृषि एम्बुलेन्स खरिद गरी उत्पादनको बजारीकरण गर्ने आठराई त्रिबेणीको घोषणा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले कृषकहरु व्यावसायिक कृषि उत्पादनमा लागे किसानको उत्पादन खरिद र बजारीकरणको व्यवस्थापन पालिका आफैंले गरिदिने घोषणा गरेको छ ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मंगलवार वडा नं २ फुलवारी र सोमवार वडा नं १ निघुरादिनका सेवाग्राहीलाई पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले किसानले उत्पादन गरेको कृषि उपज खरिद तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन समेत गर्न सक्ने बताउनुभयो । पालिकाले कृषि उत्पादन बढाउन र किसानलाई व्यावसायिक प्रकृयातर्फ अघि बढाउन साझेदारीमा अनुदान समेत दिने कार्यक्रम अघि सार्दा पनि किसानहरु साझेदारी अनुदान प्रकृयामा सहभागी नभएकोमा पालिका अध्यक्ष पोमूले दुःख प्रकट गर्नुभयो ।
‘हरेक बर्ष आठराई त्रिबेणी गाउँपालिकाले साझेदारीमा कृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आवह्वान गरेका छौं,तर कृषक परिवार अनुदानमा लागि प्रोत्साहित भएर आबेदनमा सहभागी हुनु भएको छैन’पालिका अध्यक्ष पोमूले भन्नुभयो । पोमूले कृषि फर्म,कृषक समूह,कृषक सहकारी र कृषक परिवारले प्रकृया अनुसार पालिकामा दर्ता भई कृषि अनुदानका लागि आबेदन गरेको खण्डमा साझेदारीमा अनुदान कार्यक्रम पाउनेमा ढुक्क गराउनुुभयो । भन्नुभयो‘आबेदन अनुसार प्रकृया पुगेका कृषकहरुले साझेदारीमा कृषि क्षेत्रमा अनुदान पाउनु हुन्छ’ । अनुदानका कार्यक्रममा नियमानुसार आबेदन नपरेका कारण चालु बर्षको कृषि अनुदान कार्यक्रम रकमान्तर समेत गर्नु परेको पालिका अध्यक्ष पोमूको भनाई थियो ।
कृषि क्षेत्रमा बलियो सम्भावना बोकेको आठराई त्रिवेणी गाउँपालिकाका किसान घर परिवारलाई व्यावसायिक कृषि प्रणालीमा जोड्ने प्रयास स्वरुप आफुहरुले कृषि क्षेत्रमा राम्रो बजेट व्यवस्थापन गरेपनि किसानहरु साझेदारी अनुदान प्रकृयामा सहभागी नहुनु समस्याको रुपमा रहेको पालिका अध्यक्ष पोमूले बताउनुभयो । मंगलवार फुलवारीका कृषक सदस्य होमनाथ घिमिरे,कुमार उप्रेति तथा सोमवार निघुरादिनका सेन्छेहाङ पोमू सहितका सरोकारवालाले कृषि क्षेत्रको व्यावसायिकरणका सवाल उठाउनु भएको थियो । सो सवालको उत्तर दिदैं पालिका अध्यक्ष पोमूले उत्पादन र उत्पादकत्व बृद्धि हुने कार्यक्रम पालिकाले तय गरेपनि किसान साझेदारी अनुदानप्रति उत्साहित नभएर नलागेको बताउनुभयो । पालिका अध्यक्ष पोमूले किसानलाई प्रविधि,उन्नत बीउ बिजन,बजारीकरण र भण्डारणका लागि कोल्डस्टोर निर्माण सम्मका बिषयमा पालिका उदार रहेको बताउनुभयो ।
‘तपाँई उत्पादन गर्नुहोस्,उत्पादन र उत्पादकत्व बढाउन प्रविधि देखि बीउ बिजन दिन्छौं’किसानलाई आश्वास्त पार्दै पालिका अध्यक्ष पोमूले भन्नुभयो‘उत्पादनको बजार पनि खोज्छौं,उत्पादित सामाग्री खरिदका लागि कृषि एम्बुलेन्स समेत खरिद गरी बजारीकरण र शीत भण्डार समेतको व्यवस्थापन गर्छौ’ । तर किसान व्यावसायिक उत्पादनमा लाग्न अल्छि गरे सबै बिषय अलपत्र पर्ने भएकोले यस बिषयमा किसान प्रोत्साहित र अग्रसर हुनुपर्ने पालिका अध्यक्ष पोमूले बताउनुभयो । सोमवार र मंगलवारको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष पोमू,प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता,आठराई त्रिबेणी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामप्रसाद पाठक,वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङ,कार्यपालिका सदस्यद्धय शान्ता गुरुङ र शारदाकुमारी बिमली,वडा सदस्यहरु देवेन्द्र सेन्दाङ,दुर्गा खतिवडा,अमृत विक,कुमार शेर्पा,शोभा घिमिरे विक सहितको उपस्थिति रहेको थियो ।