ताप्लेजुङका स्थानीय तहको ‘फ्रा’को नतिजा: सिरिजङ्गा र मैवाखोलाको समान बढी अंक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १८ । जिल्ला समन्वय समिति ताप्लेजुङले कागजात पेश नभएका तीनवटा पालिकाको नतिजा खाली गरी यहाँका ६ स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन FRA को नतिजा सार्वजनिक गरेको छ ।

निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेलका अनुसार ‘फ्रा’को मूल्याङ्कनका लागि फक्ताङलुङ गाउँपालिका,मेरिङदेन गाउँपालिका र सिदिङ्वा गाउँपालिकाबाट आवश्यक कागजात पेश भएन । कागजात पेश भएका ६ स्थानीय तहमध्ये मैवाखोला र सिरिजङ्गा गाउँपालिकाले समान ८३–८३ अंक पाएका छन् । पाथीभरा याङवरक गाउँपालिकाले ८१.५ अंक पाएको छ भने फुङलिङ नगरपालिकाले ७२.५ अंक पाएको छ । मिक्वाखोला गाउँपालिकाले ६७.५ अंक पाउँदा आठराई त्रिबेणी गाउँपालिकाले ६६ अंक पाएको निमित्त जिल्ला समन्वय अधिकारी पौडेलले जानकारीदिनुभयो । योजना बजेट तथा कार्यक्रम व्यवस्थापन,कार्यान्वयन क्षमता तथा व्यवस्थापन,लेखाङ्कन तथा प्रतिबेदन,अनुगमन,मूल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापन गरी ५ वटा सूचकका आधारमा ‘फ्रा’को मूल्याङ्कन गरिन्छ । ५ वटा सूचकलाई प्रति सूचक एकसय अंकभार दिएर मूल्याङ्कन गरी कुल प्राप्त अंकलाई ५ ले भाग गरेर कुल औसत प्रतिशत निर्धारण गरिन्छ ।

योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा पाथीभरा याङवरकले सतप्रतिशत अंक पाएको छ । उक्त सूचकमा मैवाखोलाले ९२.८६ अंक,सिरिजङ्गाले ९०.४८,फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाले समान ८३.३३ र आठराई त्रिबेणीले ६९.५ अंक पाएको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापन सूचकमा मैवाखोला र पाथीभरा याङवरक गाउँपालिकाले समान ८७.९३ अंक पाएका छन् । उक्त सूचकमा सिरिजङ्गाले ८४.४८,मिक्वाखोलाले ७४.१४,फुङलिङ नगरपालिकाले ७२.४१ र आठराई त्रिबेणी गाउँपालिकाले ६७.२४ अंक पाएको छ । लेखाङ्कन तथा प्रतिबेदन सूचकमा मैवाखोलाले ९४.१२ अंक पाएको छ भने पाथीभरा याङवरक गाउँपालिकाले ८२.३५ अंक पाएको छ । उक्त सूचकमा आठराई त्रिबेणी र मिक्वाखोला गाउँपालिकाले समान ७०.५९ अंक पाएका छन् । फुङलिङ गरपालिका र सिरिजङ्गा गाउँपालिकाले पनि समान ६४.७१ अंक पाएका छन् ।

अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणतर्फ सिरिजङ्गा र आठराई त्रिबेणी अब्बल देखिएका छन् । उक्त सूचकमा सिरिजङ्गाले ८७.५ अंक पाउँदा आठराई त्रिबेणीले ७१.८८ अंक पाएको छ । उक्त सूचकमा पाथीभरा याङवरकले ६८.७५,फुङलिङले ६२.५,मैवाखोलाले ५९.३८ र मिक्वाखोलाले ४०.६३ अंक पाएका छन् । राजश्व व्यवस्थापन सूचकमा सिरिजङ्गाले राम्रो अंक पाएको छ । जिल्ला समन्वय समितिले प्रकाशित गरेको नतिजा अनुसार सिरिजङ्गाले राजश्व व्यवस्थापन सूचकमा ८५.९ अंक पाएको छ । उक्त सूचकमा फुङलिङ नगरपालिकाले ७६.४७,मैवाखोला गाउँपालिकाले ७३.५३,पाथीभरा याङ्वरक र मिक्वाखोलाले समान ५८.८२ र आठराई त्रिबेणीले ५० अंक पाएको छ ।

 

Similar Posts