आउँदो महाधिबेशनमा महामन्त्री उठ्ने घोषणा गर्दै काँग्रेस नेता महरको टिप्पणी‘सरकार भित्र काँग्रेस हरायो’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार भित्र काँग्रेस हराएको टिप्पणी गर्नु भएको छ । उहाँले आफुलाई काँग्रेसको आउँदो महाधिबेशनमा महामन्त्रीको सशक्त र स्वभाविक उम्मेदवारको रुपमा समेत चित्रित गर्नुभयो ।
नेपाल प्रेस युनियन ताप्लेजुङले शनिवार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले संविधानले नचिन्ने संयन्त्रले सरकार चलाउँदा सरकारको भूमिका जनताको अपेक्षा अनुसार स्थापित हुन नसकेको दावी गर्नुभयो । सत्ता गठबन्धन नदगुरेको र धिमा चलेकोप्रति उहाँको रोष थियो ।‘म हिजो माओवादीसंगको गठबन्धनको पनि विपक्षमा थिएँ,अहिले पनि गठबन्धनको उद्देश्य अनुसार सरकार चलेको छैन,काँग्रेस सरकार भित्रै हरायो’नेता महरले भन्नुभयो । गठबन्धनको स्पिरिड र उद्देश्य अनुसार सरकार खास प्रभावकारी हुन नसकेको मरहले आरोप लगाउनुभयो । उहाँले संबिधान संशोधन तत्कालका लागि आवश्यकता नै नभएको समेत बताउनुभयो । उहाँले संबिधान कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने सहमति गर्नुपर्नेमा संबिधान संशोधनको एजेण्डा अघि सारिनु त्यति युक्ति संगत नभएको बताउनुभयो ।
संघीयता,धर्म निरपेक्षता र समावेशिताका बिषयमा संबिधानले भरपूर ग्यारेन्टी गरेकोले यसको उचित र सफल कार्यान्वयन अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो । बर्तमान सत्ता समिकरण बारे नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले मात्र निर्णय गरेको र त्यसयता काँग्रेसको केन्द्रीय समितिको बैठक समेत बस्न नसकेकोप्रति उहाँले आक्रोस पोख्नुभयो । भन्नुभयो‘सबै एजेण्डा सिमित नेतृत्व सहभागी हुने कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गर्ने प्रणालीले पार्टीलाई संस्थागत गर्न अवरोध पु¥याउँछ’ । काँग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका अहिलेसम्मको कार्यप्रगति कार्यकर्ताको अपेक्षा अनुरुप नरहेको उहाँको भनाई थियो । युवा पुस्ताले विश्वास गरेका महामन्त्रीद्धय थापा र शर्माले कार्यकालको ७ महिना अवधिमा काम गरेर देखाएमा मात्र युवा पुस्ताले फेरि उहाँहरुलाई विश्वास गर्न सक्ने महरले बताउनुभयो ।
सम्पतिको मात्र उत्तराधिकारी हुने तर राजनीतिको उत्तराधिकारी नहुने टिप्पणी गर्नु भएका नेता महरले पुस्तान्तरण र हस्तान्तरणको विधि उमेर मात्र हो या जिम्मेवारी र अवसर पनि हो भनेर बुझ्न नेतृत्वलाई सुझाव दिनुभयो । आवधिक निर्वाचन प्रणालीका आधारमा काँग्रेस प्रजातान्त्रिक शक्ति भएको स्मरण गर्दै नेता महरले काँग्रेसको महाधिबेशन समयमै सम्पन्न गरेर काँग्रेस प्रजातान्धिक शक्ति हो भने पुष्टी गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । मात्रिकाप्रसाद कोईराला नेतृत्वको सरकार पछिका कुनैपनि सरकार बहुमत नभएर होईन,आफ्नै पार्टी भित्रको अन्तरकलहका कारण ढलेकोे स्मरण गर्दै नेता महरले दलहरुमा देखिएको आन्तरिक खिचातानीले दलहरुलाई संस्थागत र व्यवस्थित गर्न अवरोध सृजना भइरहेको दावी गर्नुभयो ।
महरले पूर्व राजाका नाममा भईरहेका हर्कतलाई गलत प्रवृत्तिको संज्ञा दिदैं राजाबाट हटेपछि ज्ञानेन्द्र नागरिक भइसकेको टिप्पणी गर्दै चलनचल्तीमा प्रयोग हुने पूर्व राजा भन्ने शब्द प्रयोग गर्न पनि बाञ्छनीय नहुने बताउनुभयो । नेपाल प्रेस युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुर्कुटीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम,काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,तरुण दलका केन्द्रीय सदस्य उदयकुमार आङबुहाङ सहितको उपस्थिति थियो ।