ताप्लेजुङ बुद्ध बोर्डिङको १८ औं बार्षिक उत्सव:असल सिकाईका अनुभवहरुको आदान–प्रदानमा जोड

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङका सरोकारवालाहरुले सामुदायिक र संस्थागत दुबै बिद्यालयहरुका असल सिकाई अनुभवहरुको आदान–प्रदानले गुणस्तरीय शिक्षाको विकास र प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन् ।

फुङलिङस्थित ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलको १८ औं बार्षिक उत्सवको अवसरमा शुक्रवार बोल्ने बक्ताहरुले संस्थागत बिद्यालयहरुले शैक्षिक उन्नयनमा दिएको योगदान कम नभएको बताउनुभयो । फुङलिङ नगरप्रमुख अमिर मादेनले सामुदायिक र संस्थागत विद्यालयका असल सिकाई अभ्यास एकअर्कामा आदान–प्रदान गर्ने हो भने गुणस्तरीय सिकाई प्रवद्र्धनमा दुबैपक्ष सवल हुने धारणा राख्नुभयो । त्यही उद्देश्यका साथ नगर शिक्षा समितिमा सामुदायिक र संस्थागत बिद्यालयका प्रतिनिधिको प्रतिनिधित्व सुनिश्चित गरिएको नगरप्रमुख मादेनको भनाई थियो । उहाँले सिकाईका असल अभ्यासहरुको प्रयोगले शिक्षा सुधारमा सकारात्मक नतिजा आउने विश्वास समेत लिनुभयो । नगर शिक्षा समितिमा संस्थागत बिद्यालयकोतर्फबाट ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल इन्द्रकुमार गुरुङ सदस्य हुनुहुन्छ । उहाँ जिल्ला प्याब्सनका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

फुङलिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रकाश पौडेलले नगरपालिकाकाले न्यूनतम् सर्त र मापदण्ड बाहेक संस्थागत र सामुदायिक बिद्यालयहरुलाई हेर्ने दृष्टीकोणमा विभेद नगरेको दावी गर्नुभयो । फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले गुणस्तरीय शिक्षा अहिलेको प्रमुख आवश्यकता भएकोले सिकाई सुधार र गुणस्तरीय नतिजाका लागि शिक्षाका सबै सरोकारवालाहरुको एकीकृत भावना हुनुपर्ने बताउनुभयो । फुङलिङ नगर शिक्षा समितिका सदस्य तथा बालसुबोधिनी संस्कृत माध्यमिक बिद्यालयका प्रधानाध्यापक युवराज बस्नेतले शिक्षा क्षेत्रलाई उज्यालो र परिवर्तनमुखी बनाउन शिक्षाका सरोकारवालाको समन्वय र सहकार्य अनिवार्य हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष काजीमान पालुङ्वा,पूर्व केन्द्रीय सदस्य तथा प्याब्सन ताप्लेजुङका पूर्व अध्यक्ष युवराज गिरी,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी,प्याब्सन ताप्लेजुङका सचिव तरुण भारती,जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघक,फुङलिङ नगरपालिका वडा नं ६ का वडासचिव रनकुमार विक,आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङका शाखा प्रवन्धक सूर्य तमू सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा प्याब्सन ताप्लेजुङका कोषाध्यक्ष चन्द्रकुमार मादेन,फुङलिङ नगरपालिका वडा नं १० का वडासचिव सचिन रेग्मी सहितको उपस्थिति थियो ।

बार्षिक उत्सवकै अवसरमा ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले बिद्यालयका बिभिन्न कक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुले समेत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बिद्यालयका सहायक प्रिन्सिपल कुमारी गुरुङका अनुसार बिद्यालयमा अहिले जंक फुडमा पूर्ण प्रतिवन्ध गरिएको छ भने बिद्यालयको साताको हरेक शुक्रवार‘पेपर लेस’अभियान चलाएर अतिरिक्त क्रियाकलाप अन्तरगत मानिसको दैनिक जीवनमा प्रयोगमा आउने जीवन उपयोगी सिकाई सुरु गरिएको छ । ‘पेपर लेस’अभियान अन्तरगत कार्ययोजना बनाएर बात्ति कात्ने,दुनाटपरी र गुन्द्री तथा गजेरा बुन्ने,वाक कलाको विकासका कार्यक्रम सञ्चालन गर्ने,योगा अभ्यास शिक्षण गराउने,एन्डोर कक्ष भित्रै ब्याडमिन्टन,टेवलटेनिस र भलिबल प्रतियोगिताको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने कार्य सुरु भएको बिद्यालयले जनाएको छ ।

 

Similar Posts