प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव आजबाट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १५ । बिहीबार(आज)बाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सुरु हुने भएको छ ।
केहि समय पछि कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङवोले महोत्सवको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको महोत्सवस्थल थामडाँडा पुग्नु भएका पत्रकार महासंघ ताप्लेजुङका सचिव कृष्ण फुरुम्बो लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवस्थल झकिझकाउ बनाईएको छ । कार्यक्रममा सहभागिताका लागि पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,सिदिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्षहरु,पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु सहितका व्यक्ति थामडाँडा पुगिसक्नु भएको छ ।
महोत्सव स्थलमा याक तथा चौंरी प्रवद्र्धन कार्यक्रम अन्तरगत चौंरी प्रर्दशनी,चौंरीजन्य उत्पादन घीउ र छूर्पी,स्थानीय अल्लोको कपडाका स्टलहरु छन् भने स्थानीय जातिजातिका परिकार चखाउने खाद्य परिकारका स्टलहरु समेत रहेका छन् । जेठ १५ देखि १७ गतेसम्म चल्ने महोत्सवका कार्यक्रम अन्तरगत सिदिङ्वा धाम दर्शन तथा मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम समेत राखिएको छ ।
महोत्सवको दोस्रो शुक्रवार स्थानीय बिदा दिदैं ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले महोत्सवका तीनैदिन बिदाको अवसर जुराएको छ । उद्घाटनको पहिलो दिन १५ गते गणतन्त्र दिवस परेकोले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । दोस्रो एकदिन शुक्रवार पालिकाले स्थानीय बिदा दिएको छ । तेस्रो तथा अन्तिम दिन शनिवार बिदा रहेकोले महोत्सवका तीनैदिन सार्वजनिक बिदा जुरेको सिदिङ्वा गाउँपालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
पछिल्लो समय दर्शनार्थीहरुको लोकप्रिय धार्मिक स्थलको ख्याति कमाईरहेको सिदिङ्वा धामको प्रवद्र्धन तथा सिदिङ्वा गाउँपालिका क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।