प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव:पालिकाले दियो एकदिन बिदा,दुईदिन सार्वजनिक बिदा हुँदा महोत्सव सहज

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १४ । महोत्सवको दोस्रो शुक्रवार स्थानीय बिदा दिदैं ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सवका तीनैदिन बिदाको अवसर जुराएको छ ।

सिदिङ्वा गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव हुँदैछ । उद्घाटनकोे पहिलो दिन १५ गते गणतन्त्र दिवस परेकोले नेपाल सरकारले नै सार्वजनिक बिदा दिईसकेको छ । दोस्रो एकदिन शुक्रवार पालिकाले स्थानीय बिदा दिएको छ । तेस्रो तथा अन्तिम दिन शनिवार बिदा रहेकोले महोत्सवका तीनैदिन सार्वजनिक बिदा जुरेको सिदिङ्वा गाउँपालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिकाको बैठकले महोत्सवको दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पछिल्लो समय दर्शनार्थीहरुको लोकप्रिय धार्मिक स्थलको ख्याति कमाईरहेको सिदिङ्वा धामको प्रवद्र्धन तथा सिदिङ्वा गाउँपालिका क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।

 

Similar Posts