होमस्टे सञ्चालकलाई अनुदान दिदैं सिरिजङ्गा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । कञ्चनजंघा पर्यटकीय मार्ग वा कञ्चनजंघा लोकमार्गलाई छोएका होमस्टेहरुलाई प्राथमकिता दिनेगरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले होमस्टे स्थापनामा अनुदान दिने भएको छ ।
गाउँपालिकाका अधिकृत छैटौं सञ्जिव सिंहका अनुसार होमस्टे सञ्चालकहरुको साझेदारीमा अनुदान दिन लागिएको हो । अनुदान पालिकाको वडा नं ८ याम्फुदिन लक्षित भएको पालिकाले जनाएको छ । याम्फुदिन एक पर्यटकीय बस्ति हो । याम्फुदिन हुँदै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघासम्मको यात्रा तय गर्न सकिन्छ । अनुदानका लागि जेठ १७ गतेसम्ममा आबेदन दिईसक्नुपर्ने पालिकाले जनाएको छ । यसअघि पालिकाले होमस्टे स्थापना गर्न इच्छुकहरू तथा सञ्चालनमा रहिरहेका तर दर्ता हुन बाँकी रहेका सञ्चालकहरुलाई दर्ता प्रकृयामा आइसक्न आवह्वान गरेको थियो । गाउँपालिकाले ‘सिरिजङ्गाको गौरव,कञ्चनजंघा’ कार्यक्रममार्फत होमस्टे स्थापनाका लागि लागत साझेदारीमा अनुदान दिन लागेको जनाएको छ ।
गाउँपालिकाले होमस्टे स्थापना तथा प्रवद्र्धनका लागि होमस्टे सञ्चालन सम्बन्धी कार्यविधि २०८० जारी गरी कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार होमस्टे सञ्चालन मापदण्डका कम्तिमा ७० प्रतिशत सर्तहरु पूरा भएको अवस्थामा मात्र अनुदानका लागि ग्राह्य हुने समेत पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार होमस्टेका रुपमा पालिकामा दर्ता भएका,व्यावसाय व्यवस्थापनको अवस्था,प्रस्तावित व्यवसायका लागि पर्याप्त जग्गा भएको,वातारणीय रूपले कुनै हानी नोक्सानी नहुने भनी जग्गाको चारकिल्ला मुचुल्कासहितका कागजात संलग्न भएको र होमस्टे सञ्चालनका लागि अन्य कुनैपनि निकायबाट अनुदान प्राप्त नगरेको सहितका मापदण्डका आधारमा लाभग्राही छनौट गरिने छ ।