पर्यटन सहजकर्ता तथा होमस्टे व्यवस्थापन तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको फुङलिङमा सञ्चालित पर्यटन सहजकर्ता तथा होमस्टे व्यवस्थापन तालिम आइतवार सकिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना तथा फुङलिङ नगर पर्यटन विकास समितिको समन्वयमा सञ्चालित तालिमका सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि तथा फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले प्रमाणपत्र प्रदान गर्नुभयो । वडाध्यक्ष गुरुङले पर्यटन क्षेत्र चलायमान बनाउन तथा पर्यटकलाई आकर्षण गर्न तालिमबाट प्राप्त सीपको अधिकतम् उपयोग गर्न सहभागीलाई सुझाउनुभयो । तालिममा करिव ३० जना सहभागी भएको समन्वयकर्ता फुङलिङ नगर पर्यटन विकास समितिका अध्यक्ष हर्कराज गुरुङले जानकारी दिनुभएको छ । तालिमको मुख्य प्रशिक्षण पर्यटन विज्ञ डाक्टर आलोक प्रसाँईले गर्नु भएको थियो ।
तालिमका सहभागीलाई सदरमुकाम फुङलिङ क्षेत्रका मुख्य पर्यटकिय स्थलहरुको अवलोकन भ्रमण गराई ति पर्यटकीय क्षेत्रका बारेमा प्रतिबेदन समेत लेखन गराई उत्कृष्ट प्रतिबेदन लेखकलाई पुरस्कृत समेत गरिएको समन्वयकर्ता मानबहादुर गुरुङले जानकारी दिनुभयो । तालिम समापन समारोहका अध्यक्ष एवम् घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्यम विकास सहजकर्ता नवीन भट्टराईले प्राप्त सीपको उचित उपयोगले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिनुभयो ।
सहभागीलाई पर्यटन र सञ्चार,होमस्टे व्यवस्थापन,होटल व्यवस्थापन,स्वास्थ्य र सुरक्षा सहितका बिषयमा अवगत गराईको तालिमको समन्वयकारी निकाय फुङलिङ नगर पर्यटन विकास समितिले जनाएको छ । कार्यक्रममा होटल व्यवसायीद्धय रमेश गुरुङ र महेश गुरुङ,फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मञ्जु गुरुङ,फुङलिङ नगरपालिकाका नर्सिङ निरीक्षक सञ्जु गुरुङ,पत्रकार महासंघ ताप्लेजुङ उपाध्यक्ष सन्तोष पुर्कुटी र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितको उपस्थिति रहेको थियो ।