ताप्लेजुङमा विकास बजेट परिचालन निरासाजनक,चालु बजेट ७५ प्रतिशत खर्च हुँदा पुँजीगत २९ प्रतिशतमा सिमित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ११ । विकास बजेट भनेर चिनिने ताप्लेजुङमा पुँजीगत बजेटको परिचालन कमजोर देखिएको छ । प्रदेशभन्दा संघीयतर्फ पुँजीगत बजेट परिचालन झन् कमजोर रहको पाईएको छ ।

कोष तथा लोखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार बैशाख मसान्तसम्ममा संघीयतर्फ २९ प्रतिशत हाराहारी मात्र पुँजीगत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार प्रदेशतर्फ करिव ३६ प्रतिशत हाराहारी पुँजीगत बजेट परिचालन भएको छ । पुँजीगत बजेटको तुलनामा चालु बजेट भने कम्तिमा ५४ देखि बढीमा ७५ प्रतिशत हाराहारी परिचालन भएको छ ।

कोलेनिकाका अनुसार संघीयतर्फ चालु बजेट ४ अर्ब २९ करोड १५ लाख ९४ हजार ५ सय ११ रुपैयाँ रहेकोमा बैशाख मसान्तसम्ममा उक्त बजेटमध्ये ३ अर्ब २० करोड ३७ लाख १ हजार ३ सय ७९ रुपैयाँ खर्च भईसकेको छ ।  यो प्रतिशतका हिसावले ७४.६५ प्रतिशत भन्दा बढी हो । चालु बजेटको तुलनामा पुँजीगत बजेट भने धेरै कम मात्र परिचालन भएको छ । खनालका अनुसार संघीयतर्फ ८५ करोड ४८ लाख ६१ हजार रुपैयाँ बजेट रहेकोमा बैशाख मसान्तसम्ममा २४ करोड ८५ लाख ६७ हजार ४ सय ८८ रुपैयाँ खर्च भएको छ । यो करिव २९ प्रतिशत मात्र खर्च भएको अवस्था देखिन्छ ।

प्रदेशतर्फ ४५ करोड ३० लाख ७५ हजार ७ रुपैयाँ चालु बजेट रहेको २४ करोड ४७ लाख ५५ हजार ८ सय ९८ रुपैयाँ खर्च भएको छ । खर्च प्रतिशतका हिसावले यो ५४ प्रतिशत हाराहारी हो । प्रदेश अन्तरगत पुँजीगततर्फ १२ करोड ७० लाख ९४ हजार ६ सय ८७ रुपैयाँ बजेट रहेकोमा बैशाख मसान्तसम्ममा ४ करोड ६० लाख १८ हजार ८ सय ७० रुपैयाँ परिचालन भएको छ । यो करिव ३६ प्रतिशत हाराहारी हुन आउँछ ।

 

Similar Posts