मानव तस्करीको जञ्जालपूर्ण भारत रुद्रपुर घटना: मृतक सोमको शव ताप्लेजुङका लागि हिँडाईयो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ११ । मानव तस्करीकै झल्को दिने प्रकृतिको घटनामा जोडिएर भारतको उत्तराखण्ड पुगेका ताप्लेजुङको फुङलिङका सोम लिम्बूको शवलाई ताप्लेजुङका लागि हिडाँईएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम र प्रहरी निरीक्षकद्धय रोहितकुमार शर्मा र विवेक बस्नेतले लिएको पहलसंगै लिम्बूको शव पीडित परिवारको खर्च नगराई ताप्लेजुङतर्फ ल्याईदैं छ । शव ल्याउने प्रकृयामा सहयोग गर्न फुङलिङका यातायात व्यवसायी महेन्द्र भट्टराई समेत नेपाल–भारत सीमा क्षेत्रमा पुग्नु भएको छ । शवको पोष्टमार्टम प्रकृया पूरा भएको जानकारी आएको प्रहरीले बताएको छ । पीडितहरुलाई सहयोग गर्दै आएको ‘किन(KEEN) नेपाल’ले सोमको शव गृहजिल्ला ताप्लेजुङसम्म पठाउने प्रकृयाका लागि त्यहाँको कानुनी बन्दोबस्ती र आर्थिक सहयोग उपलब्ध गराएको जिल्ला प्रहरी प्रमुख गौतमले जानकारी दिनुभयो ।
‘आर्थिक अवस्था समेत कमजोर भएको परिवारलाई सहयोग गर्न सकिन्छ की भनेर मैले जिल्ला प्रहरी कार्यालयकोतर्फबाट पहल लिएँ’डिएसपी गौतमले भन्नुभयो‘सहयोगका लागि मैले ‘किन नेपाल’का नवीन जोशीसंग गरेको अनुरोध उहाँले स्वीकार्नुभयो’। गौतमका अनुसार शनिवार बेलुकी सोमको शवलाई भारत उत्तराखण्डस्थित रुद्रपुरबाट हिडाँईएको छ । ताप्लेजुङबाट नेपाल–भारत सीमाक्षेत्रमा पुगेको टोलीले शव बुझेर ताप्लेजुङतर्फ ल्याउने जिल्ला प्रहरी कार्यालयले बताएको छ । रुद्रपुरबाट शव गृहजिल्लासम्म ल्याउन करिव डेढलाख भारतीय रुपैयाँ खर्च हुने डिएसपी गौतमले बताउनुभयो । उहाँले सोमको शव गृहजिल्ला ताप्लेजुङसम्म ल्याउने प्रकृयामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नु भएको छ । गत बैशाख ७ गते रुद्रपुर पुगेका सोमको ५ दिन अघि मृत्यु भएको खबर परिवारले पाएका थिए ।
कसरी पुगे सोम रुद्रपुरसम्म
गत बुधवार बिहान दुईजना युवा आफ्ना दाजु तथा साथी सोमको मृत्यु भएको लिखित जानकारी सहित घटना विवरण बताउन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगे । प्रहरीले घटनाका बारेमा सूचना लिईरहेको थियो । मृतकका भाई विजय लिम्बू र फुङलिङ हाङदेवाका भाग्य लिम्बू भारतको रुद्रपुरबाट रातारात भागेर फुङलिङ आई पुग्नुभएको थियो । प्रहरीलाई प्राप्त जानकारी अनुसार भाग्यमार्फत विजय र विजयमार्फत सोम त्यहाँ पुग्नु भएको थियो । भाग्य उहाँकै अर्का साथीमार्फत त्यहाँ पुग्नु भएको थियो । विजय र भाग्यले बिल काट्ने,कपडा प्याकिङ गर्ने,कम्युटरमा काम गर्ने र मासिक भारतीय रुपैयाँ ६० हजार सम्म कमाई हुने प्रलोभनका कारण आफुहरु त्यहाँ पुगेको बताउनुभयो ।
भाग्यका अनुसार उहाँ चैत २१ गते बुटबलबाट नेपाल–भारत सीमापार गरेर रामपुर हुँदै रुद्रपुर पुग्नु भएको थियो । भाग्यले बोलाएपछि विजय गत बैशाख ४ गते त्यहाँ पुग्नुभयो भने विजयले बोलाएका उहाँका दाजु सोम बैशाख ७ गते रुद्रपुर पुग्नु भएको थियो । आर्कषक कमाईको प्रलोभनमा परेर त्यहाँ पुगेका युवाहरुले कमाईको सट्टा कुटाई,दुरव्यवहार र यातना सहनुप¥यो । विजय र भाग्यका अनुसार भारतको रुद्रपुरमा ग्याल्बे कम्पनी भनेर कोठा भाडामा लिईएको छ । त्यहाँ पुग्ने वित्तिकै कम्पनीले आधार कार्ड र राशनकार्ड बनाउन भनेर प्रतिव्यक्ति ५० देखि ६० हजार रुपैयाँ लिने गरेको छ । विजयका अनुसार त्यतिले मात्र पुग्दैन । कम्पनीले प्रत्येक व्यक्तिलाई आफ्ना ५–७ जनाको समूहमा मान्छे बोलाउनुपर्ने नियम बनाउँछ । म्यासेन्जरमा कुरा गर्न लगाएर साथी बोलाएपछि थप सम्पर्क गर्न दिदैंन । विजयले भन्नुभयो‘मैले दाजु बोलाएँ,मलाई पैसा जम्मा गर्न भनियो,तर मैले मेरो बुबा बिरामी भएको दिदीमार्फत ताप्लेजुङबाट भिडियो पठाउन लगाए,कम्पनीका बोसलाई भिडियो देखाँए,बुबा बिरामी भएको अस्पतालको कार्ड देखाएँ,मलाई कुटपिट गर्दै कोठाबाट बाहिर निकालियो र म भागेर आउन सफल भएँ’ ।
विजय त्यहाँबाट जसोतसो नेपाल आउनुभयो । दाजुलाई त्यही कम्पनीमा छाडेर आउनु भएका उहाँले नेपाल आएको केहि समयपछि दाजुको मृत्युको खबर सुन्नुभयो । प्रहरीका अनुसार सोमको मृत्युको कारण खुलेको छैन । प्रहरीले उक्त घटना बारे अनुसन्धान भइरहेको बताएको छ । विजय र भाग्यका अनुसार अहिले त्यहाँ करिव ५ सय बढी नेपाली यस्तै प्रलोभनमा परेर बसेका छन् । भाग्य र विजय समेत अलग–अलग कोठामा हुनुहुन्थ्यो । उहाँहरु रहेको ठाउँमा भने ५०–६० जना नेपालीहरु रहेको भाग्य र विजयले बताउनुभयो । विजय र भाग्यका अनुसार एक व्यक्तिले ५–७ जना बोलाएपछि मात्र कमिसन पाइने भन्दै कम्पनीले प्रत्येक व्यक्तिलाई घर परिवार,आफन्त र साथीभाई बोलाउन लगाउँछ । मान्छे नबोलाए ज्यान मार्ने धम्कीसम्म आफुले खेपेको भाग्य र विजयको भनाई छ ।
आफैंले बोलाएका व्यक्तिलाई भेटघाट र सम्पर्क गर्न पाईदैंन । आफुले बोलाएका सबै व्यक्तिले ५०–६० हजार रुपैयाँ जम्मा गर्नु अनिवार्य छ ।‘मान्छे हेरीहेरी पनि रकम लिने गरेको पाइयो’भाग्यले भन्नुभयो । उहाँका अनुसार त्यहाँ पुगेका प्रत्येक व्यक्तिलाई कोठामा थुनेर राखिन्छ । खानामा पानी र अलिकति भात दिने गरेको उहाँहरुले बताउनुभयो । उहाँहरुले सुने अनुसार त्यो कम्पनीका बोसको नाम वीरेन्द्र शाही हो ।‘हामीलाई ति मान्छे को हुन् भन्ने प्रष्ट छैन,तर त्यहाँ बसेकाहरुले दिएको जानकारी अनुसार उहाँको नाम वीरेन्द्र शाही हो भन्ने मात्र थाह छ’भाग्य र विजयले भन्नुभयो ।‘उसको घर चाँही धनगढी तिर भन्ने सुनेको हो’भाग्यले भन्नुभयो । प्रहरीले ति व्यक्तिको आधिकारिता खोजीरहेको छ । भाग्यका अनुसार बिहान त्यहाँ ‘ग्याल्बे जोस’ भन्दै त्यहाँ पुगेका मानिसलाई जोडले कराउन लगाईन्थ्यो । जसले जो मान्छे बोलाएको हो,उसको लुगा धुने काम उसैको जिम्मेवारीमा पर्ने उहाँहरुको भनाई छ । ‘केहिदिन पछि मेसमा तिमीहरुको पनि पालो आउँछ भन्थ्यो’आफुले मानसिक तथा शारीरिक यातना खेपेको बताउने उहाँहरुले अरुलाई यस्तो प्रलोभनमा नफस्न सल्लाह दिनु भएको छ
घटना गम्भिर : ताप्लेजुङ प्रहरी
दाजु गुमाएका भाई नै आएर घटना बारे प्रहरीलाई बताएपछि ताप्लेजुङ प्रहरीले यो घटनालाई गम्भिरतापूर्वक लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी बस्नेतले घटनाका बारेमा माथिल्लो निकायमा समेत जानकारी भइसकेको र घटनामा पीडित भनिएका व्यक्ति समेतको भनाईका आधारमा थप अनुसन्धान प्रकृया अघि बढाउने जानकारी दिनुभयो । उहाँले मृतक सोमको शव घरसम्म ल्याउने प्रकृयाका लागि प्रहरीले सहजीकरण गरेको र त्यसपछि अरु अनुसन्धान प्रकृया अघि बढाउने जानकारी दिनुभयो ।