मैवाखोलाद्धारा ८० प्रतिशत अनुदानमा पशुपालकलाई १४ वटा याक तथा चौंरी प्रदान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १० । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रका याक पालक कृषकहरुलाई १४ वटा याक तथा चौंरी बितरण गरेको छ ।
८० प्रतिशत अनुदानमा गाउँपालिकाले वडा नं ६ फाकुम्बा साम्तोङको जलजले याक चौरी पालन कृषक समूहलाई १४ वटा याक तथा चौंरी हस्तान्तरण गरेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनभयो । उहाँका अनुसार पालिकाले चालु आर्थिक बर्ष २०८१।८२ का लागि याक चौंरी प्रवद्र्धन कार्यक्रममा ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।
याक तथा चौंरी पालकको २० प्रतिशत आर्थिक साझेदारीमा पालिकाले १४ वटा याक तथा चौंरी बितरण गरेको पालिकाका प्रवक्ता तथा मैवाखोला गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।
ताप्लेजुङका बिभिन्न पालिकाले चालु आर्थिक बर्षको बार्षिक स्वीकृत बजेटबाट पशुपालकको समेत साझेदारी रहने गरी यसअघि नै याक तथा चौंरीप्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेका छन् । सिरिजङ्गा र फक्ताङलुङ गाउँपालिकाले ८–८ लाख रुपैयाँ बिनियोजन गरी चालु आवमै याक तथा चौंरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेगरि प्रकृया अघि बढाएका छन् ।