कोशीद्धारा ताप्लेजुङका लागि ६ वटा बहुबर्षे योजना स्वीकृत

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १० । कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुबर्षे योजना स्वीकृत गरेको छ ।
कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका अनुसार बहुबर्षे योजना अन्तरगत ५ करोड देखि ७५ करोड रुपैयाँ माथिका ६ वटा योजना स्वीकृत भएका छन् । मेन्याङ्वोको सचिवालयका अनुसार सबैभन्दा ठूलो योजना अन्तरगत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्प सम्म पुग्ने सडक योजनाका लागि ७५ करोड १३ रुपैयाँको योजना स्वीकृत भएको छ ।
तमोर करिडोर सडक जोड्ने फुङलिङ वडा नं ९ र वडा नं १० क्षेत्रमा पर्ने हाङदेवा खोलामा मोटरेवल पुल निर्माणका लागि ५ करोड १९ लाख,मेरिङदेन गाउँपालिका वडा नं ३ र मिक्वाखोला गाउँपालिका वडा नं १ जोड्ने मेवाखोला मोटरेवल पुलका लागि ८ करोड ७१ लख रुपैयाँको योजना समेत स्वीकृत भएको छ ।
आठराई त्रिबेणी मार्गमा पर्ने सोबुवाखोला मोटरेवल पुलका लागि ५ करोड ७९ लाख,आठराई त्रिबेणी गाउँपालिकामा पर्ने चुँवाखोला गाईतर्ने मुहान भई पालिका आसपास हुँदै पञ्चमी कोलचौर सिंचाई योजनाका लागि ६ करोड २० लाख र मैवाखोला गाउँपालिकामा पर्ने बुङधाक–तुम्बे–नेरा सिंचाई योजनाका लागि ६ करोड १० लाख रुपैयाँको बहुबर्षे योजना स्वीकृत भएको बताईएको छ ।