तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको तयारी:परीक्षणका रुपमा मैदानमा दुबो रोप्न थालियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ९ । यसबर्षको लाखेजात्राको अवसरमा सञ्चालन हुने तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको तयारी स्वरुप भानुजन माविको खेलमैदान व्यवस्थापन गर्न थालिएको छ ।
यहाँका बिभिन्न बिद्यालय,संघसंस्था,टोल समाज र लाखेजात्रा सञ्चालन समितिका पदाधिकारी तथा सदस्यहरुको अगुवाईमा खेल मैदानस्थलमा प्राकृतिक दुबो रोपण कार्य सम्भव हुन्छ की भनेर परीक्षण थालिएको छ ।‘खेल मैदानस्थलमा कम्तिमा दुई महिना खेलकुदका गतिविधि स्थगित गरी परीक्षणको रुपमा दुबो रोपण कार्य सुरु गरेका हौं’लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले भन्नुभयो । उहाँले स्र्फुत रुपमा अहिले मैदान क्षेत्रमा दुबो रोपण सहितका अन्य मैदान व्यवस्थापनका कार्यमा स्वयंसेवीहरु मैदानमा देखा पर्न थालेको जानकारी दिनुभयो । मैदानमा आफैं पनि अलिअलि दुबो उम्रन थालेको र रोपिएको दुबोले पनि साथ दिए मैदानमा खेल सहज हुने देखेर आफुहरु अग्रसर भएको उहाँको भनाई छ ।
आयोजक लाखोजात्रा सञ्चालन समितिले दुबो रोपण कार्यलाई परीक्षणको रुपमा लिएको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन परीक्षणको रुपमा दुबो रोपण कार्य सुरु गरिएको र परीक्षण सफल भए यसले नयाँ सिकाई प्राप्त हुने बताउँनुहुन्छ ।‘यो हाम्रो पहिलो प्रयास हो’मादेनले भन्नुभयो‘परीक्षणको रुपमा थालिएको अभियान सफल भए यसले खेलमैदानलाई नयाँ स्वरुपको बनाउने छ’ । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष शेर्पाले दुबो रोपण कार्यपछि त्यसलाई मलजलको व्यवस्थापन गर्ने,हेरचाह र स्याहारमा ध्यान दिने तयारी रहेको बताउँनुहुन्छ । उहाँले परीक्षणको रुपमा अघि दुबो रोपण कार्य अघि बढाईएकोले रोपण देखि संरक्षण सम्ममा सबैको सहयोगको खाँचो पनि औंल्याउनु भएको छ ।
तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप साउन तेस्रो साताबाट सञ्चालन हुन सक्ने देखिएको छ । साउन २४ गते रक्षाबन्धन पर्छ । सञ्चालन र समापनको आधिकारिक मिति भने तय भईसकेको छैन । दोस्रो संस्करणको ताप्लेजुङ गोल्डपक भदौ ३ गतेबाट सुरु भएको थियो । उक्त संस्करणको ताप्लेजुङ गोल्डकपका विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाएका थिए । गोल्डकपका प्रथम संस्करणका विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको नगद पुरस्कार पाएका थिए । तेस्रो संस्करणका बिजेता र उपबिजेताले पाउने पुरस्कार राशी बारे लाखेजात्रा सञ्चालन समिति निर्णयमा पुगेको छैन ।
लाखेजात्राको अवसरमा हुने गोल्डकप प्रतियोगिताका लागि परीक्षणको रुपमा भानुजन माविको खेल मैदानमा दुबो रोपण कार्य हुँदै ।