तीन वर्षे अवधिमा पूर्वाधारका काममा उल्लेख्य प्रगति

-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ ७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन)ले आफ्नो कार्यकालको तीनवर्षे अवधिमा पूर्वाधार विकासको काममा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभएको छ । तीन वर्षे कार्यअवधिमा गरेको प्रमुख उपलब्धी सार्वजनिक गर्दै अध्यक्ष पोमुले सबैभन्दा बढी पूर्वाधार विकासको काममा प्रगति भएको उल्लेख गर्नुभएको हो ।
स्थानीय तहको निर्वाचनमार्फत आठराई त्रिबेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको तीन वर्ष पूरा भएको अवसरमा मंगलबार पोमुले यस अवधिमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो । पोमुले सार्वजनिक गर्नुभएको उपलब्धीहरुमा सबैभन्दा बढी पूर्वाधार विकासका काममा प्रगति भएको उल्लेख गर्नुभएको छ ।
पूर्वाधार विकासतर्फ तीन वर्षको अवधिमा करिव ६५ किलोमिटर सडकको स्तरोन्नति तथा मर्ममको काम भएको छ । पालिका कार्यालय आसपासका बाटो (सडक) कालोपत्रे गर्ने अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ जिल्लाबाट सुनसरी धरानसम्म जाने वैकल्पिक मार्गका रुपमा गोर्जा–सुर्के–सेलेले–भुजे गुफा सडकको ट्रयाक निर्माण सम्पन्न भएको छ ।
वडा नम्बर १ निघुरादिनको लिम्बुनी पुलदेखि चोकपुर हुँदै सदरमुकाम फुङ्लिङ जोड्ने सडक निर्माणको काम सुरु भएको छ । यस्तै गाउँपालिकाको प्रशासकीय भवन सुरु गरी निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष पोमुले उपलब्धीका रुपमा उल्लेख गर्नुभएको छ । पालिकास्तरीय बहुउद्देश्यीय कभर्डहल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
निघुरादिनमा सामुदायिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ । त्यस्तै एक वडा एक खेलमैदान विस्तार योजनाअन्तर्गत हालसम्म वडा नम्बर १ निघुरादिनस्थित जनकल्याण आधारभूत विद्यालयको खेलमैदान र वडा नम्बर २ फूलबारीको महभिर खेलमैदान निर्माण सुरु भई अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकासतर्फ नै एक वडा एक बर्थिङ सेन्टर (प्रसूति केन्द्र) स्थापना गर्ने योजनाअन्तर्गत वडा १ निघुरादिन, वडा ३ हाङ्पाङ र वडा ४ चाँगेमा संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
बर्थिङ सेन्टर स्थापनाका लागि बाँकी रहेका वडाहरुमा पनि संरचना निर्माणको काम भइरहेको अध्यक्ष पोमुले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार १० शैयाको अस्पताल निर्माणको काम तीब्र गतिमा भइरहेको छ भने हाङ्पाङ र चाँगे जोड्ने सोबुवाखोलाको पक्की पुल निर्माणको काम पनि धमाधम भइरहेको छ ।
स्वास्थ्य क्षेत्रतर्फ गर्भवती तथा सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क रहेको छ । हालसम्म अर्थात तीन वर्षको अवधिमा ७० वर्ष माथिका ३२१ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपहार तथा ५९ जनालाई दन्त उपहार प्रदान गरिएको छ । त्यस्तै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको छ । विपन्न परिवारलाई औषधी सहायता उपलब्ध गराइएको छ भने रेविजविरुद्धको खोप वडा १ र वडा ३ बाट उपलब्ध गराउन सुरु गरिएको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा कार्यान्वयनमा रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा वृद्धि गर्न आम शिक्षा भेला, गोष्ठी र अन्तक्र्रियाहरु सञ्चालन गरिएका छन् । पालिकास्तरी नमुना विद्यालय छनोट गरी सञ्चालनमा ल्याइएको छ भने शिक्षकलाई विगत दुई वर्षयता मासिक रुपमा तलबभत्ता उपलब्ध गराइँदै आएको छ ।
यस्तै कृषि वातावरणतर्फ एक घर एक धारा अभियान सुरु भएको छ । प्रत्येक वडामा कृषि पाठशाला सुरुवात गरिएको छ । कृषक समूहलाई मल, उन्नत जातको बीउविजन वितरण भइरहेको छ भने कृषकको प्रोत्साहनस्वरुप अनुदान रकमहरु उपलब्ध गराइँदै आएको छ । सुशासन, पारदर्शिता तथा डिजिटल सेवातर्फ पालिकाभित्रका सबै सरकारी कार्यालय र विद्यालयहरुमा फाइबर नेट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
नागरिकता, जन्मदर्ता सिफारिस अनलाइनमार्फत सुरु गरिएको छ । सुरक्षा व्यवस्था बजबुद बनाउन प्रत्येक सरकारी कार्यालय र विद्यालयहरुमा सिसि क्यामरा जडानको काम अन्तिम चरणमा पुगको छ । विद्युत सेवा विस्तारतर्फ गाउँपालिकाभरिका सबै उपभोक्तालाई निःशुल्क विद्युत सेवा उपलब्ध गराउँदै आएको पनि तीन वर्षे कार्य अवधिको उपलब्धीका रुपमा अध्यक्ष पोमुले उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो कार्यकालको तीन वर्षे अवधिमा भएका उपलब्धी र प्रगतिहरु पालिकाभित्रका जनताको विश्वास, कर्मचारीको समर्पण र जनप्रतिनिधिहरुको सक्रिय सहकार्यमा सम्भव भएको पनि उल्लेख गर्नुभएको छ । कार्यकालको बाँकी रहेको दुई वर्षमा पनि अझ प्रभावकारी सेवा, समावेशी विकास र समृद्ध गाउँपालिका निर्माण गर्ने कार्यका लागि अध्यक्ष पोमुले प्रतिवद्धता जनाउनुभएको छ । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा पोमु नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।