ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू जाति,जातजातिमा कसको प्रतिशत कति ?

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङको जनसंख्यामध्ये सबैभन्दा बढी याक्थुङ अर्थात् लिम्बू समुदाय देखिएका छन् ।
तथ्याङ्क कार्यालय इलामले मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको तथ्याङ्कीय साक्षरता तथा क्षमता अभिबृद्धि सम्वन्धी कार्यक्रममा २०७८ सालको जनगणनाका आधारमा देखिएको ताप्लेजुङ जिल्लाको जातजाति सम्वन्धी विवरणमा उक्त तथ्याङ्क बाहिर आएको हो । तथ्याङ्क कार्यालय इलामका तथ्याङ्क अधिकृत किरणकुमार राईका अनुसार ताप्लेजुङको कुल जनसंख्यामध्ये लिम्बू समुदायको ४२.६० प्रतिशत रहेको छ । लिम्बू समुदाय पछि दोस्रोमा शेर्पा समुदायको ११.९८ प्रतिशत,क्षेत्री समुदायको ११.६७ प्रतिशत र पहाडी ब्राह्मण समुदायको ५.७० प्रतिशत जनसंख्या रहेको राईले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
राई समुदायको ५.०६ प्रतिशत,गुरुङ समुदायको ४.७३ प्रतिशत,तामाङ समुदायको ४.६६ प्रतिशत र विश्वकर्मा समुदायको ४.५५ प्रतिशत जनसंख्या रहेको विवरण राईले प्रस्तुत गर्नु भएको छ। यस्तै परियार समुदायको १.४५ प्रतिशत,नेवार समुदायको १.३९ प्रतिशत,मगर समुदायको १.१० प्रतिशत,सुनुवार समुदायको १.०५ प्रतिशत र अन्य समुदायको ४.०६ प्रतिशत जनसंख्या रहेको विवरण तथ्याङ्क कार्यालय इलामले प्रस्तुत गरेको छ । २०७८ सालको जनगणना अनुसार ताप्लेजुङको कुल जनसंख्या १ लाख २० हजार ५ सय ९० रहेको छ । २०६८ सालको जनगणना अनुसार ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार ४ सय ६१ रहेको थियो ।
पालिका स्तरको परिवार संख्याका आधारमा २०६८ भन्दा २०७८ मा यहाँका ९ स्थानीय तहमध्ये ६ स्थानीय तहमा बढेको देखिएको छ भने ३ स्थानीय तहको घटेको देखिएको छ । १० बर्षको अवधिमा परिवार संख्या बढ्ने पालिकाहरुमा फुङलिङ नगरपालिकासहित मैवाखोला,मेरिङदेन,फक्ताङलुङ,सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाको बढेको देखिएको छ भने आठराई त्रिबेणी,मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकामा परिवार संख्या घटेको देखिएको छ ।
तथ्याङ्क कार्यालय इलामका अनुसार २०६८ सालमा फुङलिङ नगरपालिकामा ५ हजार ९ सय ८६ परिवार रहेकोमा २०७८ सालको जनगणना अनुसार ६ हजार ८ सय ९८ परिवार पुगेका छन् । मैवाखोला गाउँपालिकामा २ हजार १ सय ९४ परिवारबाट बढेर परिवार संख्या २ हजार २ सय ४९ पुगेका छन् । मेरिङदेन गाउँपालिकामा २ हजार ५ सय ७८ परिवारबाट बढेर २ हजार ६ सय ६२ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ । फक्ताङलुङ गाउँपालिकामा २ हजार ५ सय २५ परिवारबाट बढेर २ हजार ८ सय ३२ परिवार पुगेका छन् ।
सिदिङ्वा गाउँपालिकामा २ हजार ३ सय ७० बाट बढेर २ हजार ४ सय ७६ परिवार हुँदा सिरिजङ्गा गाउँपालिकामा ३ हजार २ सय २७ परिवारबाट बढेर ३ हजार २ सय ५५ परिवार कायम भएका छन् । आठराई त्रिबेणी गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार २ हजार ८ सय ८८ परिवार रहेकोमा पछिल्लो १० बर्षमा घटेर २ हजार ८ सय ५४ परिवारमा सिमित भएको देखिएको छ । यस्तै मिक्वाखोला गाउँपालिकामा १ हजार ८ सय ६९ बाट घटेर १ हजार ८ सय ४५ परिवार देखिएका छन् । पाथीभरा याङवरक गाउँपालिकामा २ हजार ८ सय ३४ परिवारबाट घटेर २ हजार ७ सय ५ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
तथ्याङ्क कार्यालय इलामका प्रमुख प्रकाश नेपालका अनुसार नेपाल जीवनस्तर सर्वेक्षण चौथो(आव २०७९।८०)अनुसार बार्षिक ७२ हजार ९ सय ८ रुपैयाँ भन्दा कम आम्दानी गर्ने व्यक्ति गरिवीको रेखामुनि हुनेछन् । खाद्य उत्पादनतर्फ बार्षिक ३५ हजार २९ रुपैयाँ तथा गैर खाद्य उत्पादनतर्फ बार्षिक ३७ हजार ८ सय ७९ रुपैयाँ भन्दा कम आम्दानी हुने परिवारलाई गरिवीको रेखामुनि रहेको मानिने छ । कार्यक्रममा उठेका जिज्ञासाको तथ्याङ्क कार्यालय इलामका प्रमुख नेपालले जवाफ दिनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पहाडी र हिमाली क्षेत्रको जनसंख्या बर्षेनि ऋणात्मक हुँदै जानु चिन्ताको बिषय भएको बताउनुभयो । जनसंख्याको असन्तुलित बितरण रोक्न सम्वन्धित सबैपक्षले उचित उपायको खोजी गर्नुपर्ने उहाँको जोड थियो ।