जेठ १५ बाट हुने सिदिङ्वा धाम पर्यटन महोत्सवको तयारी तीव्र,साँस्कृतिक कार्यक्रममा राजेश पायल राई आउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ५ । जेठ १५ गते देखि ताप्लेजुङको सिदिङ्वामा हुने ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव–२०८२’ को तयारी तीव्र बनाईएको छ ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवम् सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार तयारी स्वरुप प्रचारप्रसारका काम अघि अघि बढाईएको छ भने अन्य आवश्यकीय प्रवन्ध मिलाउन थालिएको छ । सांस्कृतिक मौलिकताको जर्गेना र खेलकुदको विकाससंगै ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर आयोजित ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव समग्र पालिकाका पर्यटकीय क्षेत्रको विकासको परिककल्पनाका आधारमा महोत्सव आयोजना गरिएको पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)बताउँनुहुन्छ । महोत्सव १५,१६ र १७ गते सम्म सञ्चालन हुने छ । महोत्सवका क्रममा हुने साँस्कृतिक उत्सवमा गायक राजेश पायल राईको नेतृत्वमा रहेका कलाकार आउने निश्चित भएको पालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा,खेलकुद गतिविधि,स्थानीय उत्पादनको प्रदर्शन,सांस्कृतिक प्रस्तुति लगायतका गतिविधि हुनेछन् । खेलकुदतर्फ वडा स्तरीय भलिबल हुने छ । बिजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी,पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ३० हजार रुपैंयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ । महोत्सवका अवसरमा हाफ म्याराथन प्रतियोगिता पनि हुनेछ । म्याराथनका विजेताले ४० हजार,उपबिजेताले ३० हजार र तृतीय हुनेले २० हजार रुपैंयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । कार्यक्रममा डोरी तान्नेतर्फ सामूहिक र एकल प्रतियोगिता समेत हुने छन् भने छेल्लो हान्ने प्रतियोगिता समेत आयोजना गरिएको महोत्सव व्यवस्थापन सचिवालय संयोजक रुद्रप्रसाद बेघाले जानकारी दिनुुभयो ।
महोत्सवमा सांस्कृतिक प्रस्तुतितर्फ नौमति बाजा,च्याब्रुङ नाच (केःलाङ) सहित स्थानीय समुदायको जातीय संस्कृतिमा आधारित साँस्कृतिक प्रस्तुती हुने छ । याक,चौरी र भेडा प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि गाउँपालिकाले जनाएको छ । स्थानीय उत्पादन घीउ,छूर्पी सहित स्थानीय समुदायले स्थानीय स्तरका कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिने पालिकाले जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिव ३७ लाख ९० हजार रुपैयाँ बराबरको लागत अनुमान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव सम्पन्न गर्न सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी १ सय १ सदस्यीय मूल समारोह समिति बनाईएको छ भने १० वटा उपसमिति निर्माण भएका छन् ।
उपसमितिलाई बिषयगत जिम्मेवारी पूरा गर्न निर्देशन गरिएको महोत्सव मूल आयोजक समिति संयोजक एवम् पालिका अध्यक्ष राईले बताउनुभयो । आयोजक समितिका सदस्य तथा सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बूदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले महोत्सवमा स्थानीय परिवेश र आवश्यकतालाई ध्यान दिएर स्थानीय उत्पादनमा बिशेष जोड दिईएको बताउनुभयो । किंवदन्ती अनुसार श्रिङ्ग ऋषिले कठोर तपश्या गरी मनोकाँक्षा पूरा गरेकोले सिदिङ्वाधामको दर्शन गरे आफुले मागेको वर सिद्ध हुने जनविश्वास रही आएको छ ।
सिदिङ्वा धामबाट कञ्चनजंघा,पाथीभरा,कुम्भकर्ण सहितका हिमश्रृंखलाका साथमा भारतको सिक्किम र दार्जिलङ सहितका स्थानहरुको अवलोकन गर्न सकिने स्थानीय प्रकाश राई बताउँनुहुन्छ । सिदिङ्वा धामकै प्रसिद्धीबाट पालिकाको नामनै सिदिङ्वा रहन गएको बताइन्छ । सिदिङ्वा धामबाट सिदिङ्वा गाउँपालिकाका ७ वटै वडाहरुलाई नियाल्न सकिने गाउँपालिकाले जनाएको छ ।