|

बैशाखमा ३८ हजार भक्तजनले गरे पाथीभरा दर्शन

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १ । वैशाख महिनामा अड्तीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ तिहारपछि पाथीभरा दर्शन गर्ने दोस्रो सिजन (मौसम) मानिने वैशाख महिनामा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधि अर्थात वैशाखमा कुल ३८ हजार १७० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङ्बाङ नियुक्त हुनु भएपछि प्रत्येक महिनाको मसान्तमा भक्तजन तथा भेटीको विवरण सार्वजनिक गर्न सुरु गरिएको हो । समितिले सार्वजनिक गरेको विवरणअनुसार भक्तजनको सङ्ख्या भने घटेको पाइएको छ ।
गत वर्षको वैशाख महिनामा ५१ हजार ८०४ जना भक्तजनले पाथीभराको दर्शन गरेका समितिको तथ्यांक रहेको छ । गत वर्षको तुलनामा यसवर्ष वैशाखमा पाथीभरा दर्शन गर्न १३ हजार बढी भक्तजन कम आएका छन् । पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु गरिएको केबलकार तथा मुक्कुमलुङ विवादका भक्तजनको सङ्ख्या घटेको हुनसक्ने बताइएको छ ।
गएको वर्ष अर्थात २०८१ सालमा दुई लाख २१ हजार ६०२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्यामध्ये सबैभन्दा बढी कात्तिक महिनामा ६१ हजार १७३ जना भक्तजनले पाथीभराको दर्शन गरेका समितिको तथ्यांक रहेको छ । समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार देशका विभिन्न ठाउ‘बाट भक्तजन आएका छन् भने देशबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका मुलुकबाट समेत पाथीभरा दर्शन गर्न भक्तजन आउने गरेका छन् ।
यता वैशाख महिनामा पाथीभरामा ६० लाख ९० हजार ८१५ रुपियॉ भेटी रकम संकलन भएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनले चढाएको र दान गरेका रकम समितिले भेटी रकमका रुपमा संकलन गर्ने गरेको छ ।

Similar Posts