पूर्व मन्त्री स्वर्गीय गुरुङका परिवारद्धारा गुम्बालाई १ लाख २५ हजार सहयोग,बुद्धको मूर्ति पनि प्रदान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३० गते । पूर्व मन्त्री स्वर्गीय सूर्यमान गुरुङका परिवारले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । २५६९औं बुद्ध जयन्तीको अवसर पारेर कार्यक्रममा बुद्धको मूर्तीसहित नगद सहयोग गर्नु भएको हो ।

पूर्व श्रम तथा रोजगार र सामान्य प्रशासन मन्त्री गुरुङका श्रीमती र छोराछोरीले उक्त सहयोग गर्दै बुद्ध जयन्ती कार्यक्रमको सम्पूर्ण खर्च समेत व्यर्होनु भएको छ । जेठा छोरा इन्द्रमान गुरुङले ताप्लेजुङबासीलेनै आफ्ना बुवालाई राजनीतिका लागि प्रेरित गरेकोले आफुहरुले पनि जिल्लाबासीलाई सकेको सहयोग गरेको बताउनुभयो । गुरुङले भन्नुभयो,‘बुवालाई जिल्लाबासीले सबथोक दिए । त्यही भएर हामीले जे–जति सक्छौं,समाजलाई उपलब्ध गराउने प्रतिज्ञा गर्छौ’ । गुरुङ सादगी जीवन र स्वच्छ छविको राजनीतिमा कहलिएका व्यक्तिमा पर्नुहुन्थ्यो । स्वर्गीय गुरुङका परिवारले दिएको सहयोग रकम निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बाको पुनःनिर्माणमा रकम खर्च गरिने बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष भरतकुमार गुरुङले जानकारी दिनुभयो ।

गुम्बाद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरप्रमुख अमिर मादेनले सबै समुदाय र धर्मको रक्षा गर्न नगरसरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१औं शताब्दीमा बुद्धको उपदेश र मार्ग पछ्याउनेको संख्या उल्लेख्य रुपमा बढ्दै गएको बताउनुभयो । कार्यक्रममा साहित्य कार्यक्रम पनि समावेश थियो । लेकाली कान्छा मुक्कुम,प्रजिन हाङवाङ,खगेन्द्र कार्की,होमप्रसाद दाहाल,भरतकुमार गुरुङ,लीला आँसु,सन्देश कालीकोटे,विनिता लिम्बू लगायत एकदर्जन सर्जकले कविता वाचन गर्नु भएको थियो ।

विक्रम सम्वत् १९९८ साल बैशाख १० गते जन्मिएका गुरुङको २०८१ साल बैशाख २५ गते निधन भएको थियो । २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा गुरुङ कांग्रेसको प्रचारप्रसार विभागको जिम्मेवारीमा हुनुहुन्थ्यो । गुरुङले २०१८ सालमा काँग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गर्नु भएको थियो । गुरुङको नेतृत्वमा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी थाना कब्जा भएको थियो । प्रहरी थाना कब्जापछि त्यही बेलादेखि भूमिगत भएका गुरुङ भारत निर्वासनमा बस्नु भएको थियो । २०३६ सालमा आममाफी पाएपछि गुरुङ नेपाल फर्किनुभयो । २०३६ सालमा भएको कांग्रेस भेलामा एउटा समूह फुटेर पञ्चायतमा भाग लिने पक्षमा उभियो । गुरुङ सोहि समूमा रहेर पञ्चायत राजनीतिमा सक्रिय हुनुभयो ।

गुरुङ २०३९ सालदेखि २०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको (हालको जिल्ला समन्वय समितिक)सभापति हुनुहुन्थ्यो । २०४६ सालमा प्रजातन्त्र आएपछि कांग्रेसमै बसेर राजनीतिलाई निरन्तरता दिनुभयो । २०६४ सालको निर्वाचनमा माओवादीका राम कार्की(पार्थ)लाई पराजित गरेर गुरुङ ताप्लेजुङको निर्वाचन क्षेत्र नं १ बाट संबिधानसभाको सदस्य बन्नुभयो । २०७० सालमा समानुपातिकतर्फबाट संबिधानसभा सदस्य हुनुभएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार मन्त्री तथा एकपटक स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री बन्नुभयो । उहाँ लामो समयसम्म नेपाली काँग्रेसको ताप्लेजुङ सभापति हुनु भएको थियो । काँग्रेसको केन्द्रीय सदस्य समेत भएका गुरुङ काँग्रेसको भातृ संस्था लोकतान्त्रिक जनजाति महासंघका पूर्व केन्द्रीय सभापति समेत हुनु भएको थियो ।

Similar Posts