याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पशुपालकलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार याक प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक बर्षमा ८ लाख रुपैयाँ बजेट रहेको छ । याक प्रवद्र्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राहीले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने पालिकाले जनाएको छ । चालु आर्थिक बर्ष २०८१।८२ मा प्रदेश तथा स्थानीय तहमा सर्शत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपंक्षि तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्वन्धी कार्यविधि २०८१ अनुसार याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ ।

पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार कार्यक्रममा सहभागी हुन चाहने याक पालकहरुले मिति २०८२ साल बैशाख २८ गतेका मितिले १५ दिनभित्र पालिकामा आबेदन गर्नुपर्ने हुन्छ । कृषक,कृषक समूह,समिति,सहकारी,संघसंस्था,कम्पनी फर्म वा निजी उद्यमीले आबेदन दिनसक्ने पालिकाले जनाएको छ । आबेदकले संक्षिप्त कार्ययोजना,नेपाली नागरिकताको प्रतिलिपि सहित आबेदन दिनुपर्ने पालिकाले जनाएकको छ । सहकारी,कृषक समूह र संघसंस्थाहरुको हकमा पालिकामा दर्ता तथा नविकरण भएको हुनुपर्ने,स्थायी लेखा नम्बर र करचुक्ता भएको हुनुपर्ने समेत पालिकाले जनाएको छ । ताप्लेजुङको हिमाली क्षेत्रमा याक तथा चौंरी पालनको राम्रो सम्भावना रहेको छ । सोहि अवस्थाका आधारमा याक पालकलाई सहयोग पुग्नेगरी पालिकाले याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

 

Similar Posts