५ नेपाली र ५ विदेशी सहित १० जनाद्धारा कञ्चनजंघा हिमालको सफल आरोहण,७० जनाद्धारा अनुमति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २८ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर)मा यस बसन्त ऋतुमा १० जनाले सफल आरोहण गरेका छन् ।
आरोहण गराउने एजेन्सी सेभेन समिट ट्रेक्सका जनरल म्यानेजर थानेश्वर गुरागाँईका अनुसार मे १० तारेख अर्थात् २०८२ साल बैशाख २७ गते शनिवार दिउँसो २.१५ मा १० जनाले कञ्चनजंघाको सफल आरोहण गरेका हन् । आरोहण गर्नेमा ५ जना नेपाली र ५ जना बिदेशी नागरिक छन् । गुरागाँईका अनुसार सफल आरोहण गर्ने बिदेशीमा कोसोवो,इरान र बेलायतका नागरिक हुन् । उहाँका अनुसार कञ्चनजंघाको आरोहण गर्नेमा फ्लुतुरा ईव्राहिमी,एड्रियन माइकल हेस,अलिरेजा बेहपुर,सइद अल्मेमारी,सेयदमिदरजा हासेमी,लाक्पातेम्बा शेर्पा,ङिमादोर्ची शेर्पा,फुरसोना शेर्पा,ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहनु भएको छ ।
गुरागाँईका अनुसार नेपाली र भारतीय सेनाका २३ सहित जम्मा ७० जना आरोहणको क्रममा रहेकोमा १० जनाले भने सफल आरोहण गर्नु भएको छ ।‘सफल आरोहण गरेको १० जनाको टोली फर्कदै हुनुहुन्छ,कोहि क्याम्प ३ मा आइपुग्नु भएको छ’गुरागाँईले ईउज्यालो पोष्टसंग भन्नुभयो । यसबर्ष कञ्चनजंघामा आरोहणका लागि प्रभावशाली उपस्थिति रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सेभेन समिट ट्रेक्सबाट ४० जना र अन्य ट्रेकिङ एजेन्सीबाट ३० जनाले कञ्चनजंघा आरोहणको अनुमति लिएका छन् । आरोहण सुरु गर्नुअघि कञ्चनजंघामा ८ जना शेर्पाहरुको टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइन सुरक्षित गरेको थियो । आरोहण सुरु गर्नु पहिले ३ सय ५० मिटर भन्दा बढी डोरी फिक्स गरी आरोहणको अन्तिम भाग सुरक्षित गरिएको थियो ।