कफी खेति सम्वन्धी तालिमका लागि मैवाखोलाले माग्यो आबेदन,२८ गतेसम्ममा आबेदन दिनुपर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । कफी खेति सम्वन्धी सम्भाव्यता अध्ययन गरी खेति हुने क्षेत्र पहिचान गरेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेति गर्दै आएका तथा कफी खेति गर्न इच्छुक किसानलाई तालिम दिने भएको छ ।
मैवाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार कफी खेति हुने गरी पहिचान भएका क्षेत्रमा कफी खेति गर्दै आएका तथा खेति गर्न इच्छुक किसानले तालिमका लागि आबेदन दिनुपर्ने हुन्छ । पालिकाले यही बैशाख ३० गते कफी खेति गर्दै आएका तथा खेति गर्न इच्छुक किसानका लागि कफी खेति सम्वन्धी एकदिने तालिमको आयोजना गरेको छ । इच्छुकहरुले बैशाख २८ गते भित्र पालिकामा तालिमका लागि आबेदन दिनुपर्ने पालिकाले जनाएको छ ।
मैवाखोला गाउँपालिकाले विज्ञहरुमार्फत गराएको अध्ययन अनुसार वडा नं १ को तेल्लाबुङ देखि तल्लो क्षेत्र र वडा नं २ को तेम्बेदेखि तल्लो क्षेत्र र हातिखावा देखि बाटोमुनि हाङ्थाना तल्लो क्षेत्र र वडा नं ३ को माङहिम टोलदेखि तल्लो क्षेत्र तथा भट्टराई टोल देखि तल्लो क्षेत्रका कफी खेति गर्न सकिने देखिएको छ । अध्ययन टोलीको प्रतिबेदन अनुसार वडा नं ४ मा रिफाईले जाने घिमिरे टोल देखि तल्लो क्षेत्र,वडा नं ५ को नुम्लोक र फाकुम्बा देखि तल्लो क्षेत्र तथा घोरेटार देखि तल्लो क्षेत्र र वडा नं ६ मा हाम्फाबुङदेखि तल्लो क्षेत्र र साङलुपादेखि तल्लो क्षेत्रमा कफी खेति गर्न सकिने छ । मैवाखोला गाउँपालिकामा कफी खेतिका लागि १ हजार १ सय मिटर देखि १ हजार ४ सय ५० मिटरसम्मको उचाई सिफारिस गरिएको छ ।