युवा संघको जिल्ला अधिबेशन बिबाद: निलम्बनमा परेका नेताहरुको प्रतिक्रिया ‘हामीले विधिको कुरा उठाएका हौं’

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । निलम्वनमा परेका एमालेको प्रदेशस्तरीय कमिटीका दुईनेताले विधि र प्रकृयाको कुरा उठाउँदा पार्टीले निलम्वन र कारवाहीको कुरा गर्छ भने त्यो आम कार्यकर्तालेनै बुझ्ने प्रतिक्रिया दिएका छन् ।
‘छानबिन समिति बनेको छ रे,त्यसले युवा संघको नेतृत्व चयनको प्रकृया समेत हेर्दोहो,हेर्दै जाऔं’निलम्वनमा परेका भनिएका एमाले प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य बलबहादुर साम्सोहाङले भन्नुभयो । उहाँले आफुहरु पार्टी संगठनका हरेक गतिविधि विधिसम्मत हुनुपर्ने पक्षमा रहेको समेत प्रतिक्रिया दिनुभयो । अर्का नेता मणिशंकर पोमूले पार्टी भित्रको सांगठनिक अराजकताको बिरुद्ध जस्तो सुकै मूल्य चुकाउन पनि आफु तयार रहेको प्रतिक्रिया दिनु भएको छ ।‘पार्टी र संगठन बिधि र प्रकृया अनुसार चल्नु पर्छ,हाम्रो उद्देश्य पार्टी संगठन बलियो र एकतासहितको हुनुपर्छ भन्ने हो’पोमूले भन्नुभयो । उहाँले सबै नेता कार्यकर्ताको सम्मानजनक सहभागिताले मात्र पार्टी संगठन बलियो हुने समेत बताउनु भएको छ ।
पोमू एमालेको कोशी प्रदेश पर्यटन विभागका सचिव हुनुहुन्छ । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दशौं जिल्ला अधिबेशनको नेतृत्व चयनको बिषयमा दुइपक्षबिच कुर्सी हानाहान सम्मको घटनापछि बसेको कोशी प्रदेश कमिटीको बैठकले नेताहरु अधिबेशनको क्रममा आएको बिबादका बिषयमा छानबिन गर्न तीन सदस्यीय कमिटी बनाएको छ । एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाका अनुसार घटना छानबिनका लागि उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा समिति बनेको छ । समितिलाई घटनाको छानबिन गरी प्रतिबेदन पेश गर्न एक महिनाको समय दिईएको छ ।
एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाका अनुसार छानबिन समितिले प्रतिबेदन पेश गरी अर्को निर्णय नभईञ्जेल सम्मकालागि साम्सोहाङलाई कोशी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्यबाट निलम्वन गरिएको छ । खतिवडाका अनुसार पोमूलाई भने छानबिन समितिले प्रतिबेदन पेश गरी अर्को निर्णय नभईञ्जेल सम्मकालागि पार्टीको संगठित सदस्यबाट समेत निलम्वन गरिएको छ ।‘महिना दिनका लागि निलम्वन होईन,छानबिन समितिले प्रतिवेदन पेश गरेर त्यस उपर अर्को निर्णय नभईञ्जेलसम्मका लागि हो’खतिवडाले भन्नुभयो ।
निलम्वनमा परेका पोमूले भने संगठित सदस्यता निलम्वनको निर्णय प्रदेश कमिटीले गर्नै नसक्ने प्रतिक्रिया दिनुभयो । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दशौं जिल्ला अधिबेशनको क्रममा बैशाख १८ गते राति अध्यक्ष मण्डलले सर्वसम्मतका नाममा एकपक्षिय नाम घोषणा गर्न खोजेको,आफुहरुले त्यसको प्रतिवाद गरेको र अध्यक्ष मण्डलले बैशाख १९ गतेका लागि बन्दसत्र सारिएको घोषणा गरेर अधिबेशन हलमा आउँदै नआएको पोमूको भनाई छ । अध्यक्ष मण्डलले भने सर्वसम्मत नामावली हलमा प्रस्तुत गरिएको बताउँदै अधिबेशनका सबै प्रकृया पूरा भएको दावी गरेको छ । ‘नेतृत्व चयनका लागि बिधि र प्रकृयासम्मतनै नाम हलमा प्रस्तुत गरी सर्वसम्मत नेतृत्व चयन भएको हो’युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले भन्नुभयो ।
युवा संघ नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटी इञ्चार्ज निरोज पौडेलको अध्यक्षतामा अध्यक्ष मण्डल रहेको थियो । अध्यक्ष मण्डलले युवा संघ ताप्लेजुङको अध्यक्षमा मानिक तुम्बाहाम्फे,उपाध्यक्षमा दिलकुमार सुनुवार,सचिवमा डेभिड लिम्बू,उपसचिद्धयमा प्रकाश एभेङ र बरुण लिम्बू,कोषाध्यक्षमा सुनिता यक्सो लिम्बू,साइवर सर्कल प्रमुखमा श्रीहाङ लिम्बू,युवा विज्ञ परिषद्का केशव पौडेल र युथ फोर्स प्रमुखमा पारुहाङ लिम्बू रहेको ४१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको घोषणा गरेको छ ।