बोलपत्र लगाउनुअघि सार्वजनिक खरिद ऐनको राम्रो अध्ययन गर्न निर्माण व्यवसायी महासंघका महासचिवको सुझाव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २१ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बोलपत्र लगाउनुअघि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको राम्रो अध्ययन गर्न निर्माण व्यवसायीलाई सल्लाह दिनु भएको छ । उहाँले स्वीकृत बोलपत्रका आधारमा पाएको जिम्मेवारी गुणस्तरीय र समयमै सम्पन्न गर्दै त्यहीबाट मुनाफा आर्जन गरेमा मात्र निर्माण व्यवसायी सफल हुने बताउनु भएको छ ।
निर्माण व्यवसायीका लागि ताप्लेजुङको फुङलिङस्थित होटल जन्नुमा आयोजित निर्माण व्यवस्थापन(कन्ट्रक्सन म्यानेजमेन्ट) तालिमको आइतवार उद्घाटन गर्दै दाहालले बोलपत्र स्वीकृत भएपछि कामबाट भाग्न नपाइने बताउनुभयो । निर्माण व्यवसाय क्षेत्र देश निर्माणको आधार भएको बताउँदै निर्माण व्यवसायीले बिस्तृत परियोजना प्रतिबेदनको राम्रो अध्ययन पछि मात्र बोलपत्रतर्फ अघि बढ्न समेत निर्माण व्यवसायीलाई सल्लाह दिनुभयो । देशका नाम चलेका निर्माण व्यवसायी समेत व्यवसायबाट पलायन हुनु परेको स्मरण गर्दै महासचिव दाहालले कामको प्रगतिको आधारमा सरकार र सार्वजनिक निकायबाट हुनुपर्ने भुक्तानी नहुँदा समेत निर्माण व्यवसायीले समस्या खेप्नु परेको सुनाए । बिदेशी निर्माण कम्पनीले बन्द,हड्ताल,विपद् लगायतका कारणबाट निर्माणको काम रोकिए ठूलो रकम दावी गर्नेगरेको बताउँदै उहाँले‘नेपालको निर्माण नेपालीनै गर्छन् भन्ने बिषयमा सरकार र सार्वजनिक निकाय पनि प्रष्ट हुनुपर्छ’भन्नुभयो । सार्वजनिक खरिद ऐन र नियमावलीको दफा ५९(३) र (८) निर्माण व्यवसायीलाई नराम्रोसंग बाँधेको उहाँको टिप्पणी थियो ।
कार्यक्रमका बिशिष्ट अथिति रहनु भएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मुलुकको निर्माण र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको योगदान स्मरणीय रहेको बताउनुभयो । निर्माण व्यवसायीलाई सुझाव दिदैं प्रजिअ शर्माले आफुले प्राप्त गरेको इजाजतपत्रको बिक्रीबाट भने निर्माण व्यवसायी टाढै रहनुपर्नेमा जोड दिनुभयो । प्राप्त जिम्मेवारी समयमै र गुणस्तरीय रुपले पूरा गर्न निर्माण व्यवसायी सम्बेदनशिल हुनुपर्ने बताउँदै प्रजिअ शर्माले निर्माणको सुरक्षा र समन्वयमा स्थानीय प्रशासनकोतर्फबाट आफुहरुले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
नेपाल निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ लिम्बूले सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान निर्माण व्यवसायीको विपक्षमा रहेको दुःखेको पोख्नुभयो । उहाँले निर्माण गरेवापतको भुक्तानी समयमै नदिने,बजेट कम हुने जस्ता समस्याले आफुहरु नाक खुम्च्याएर हिड्नुपर्ने अवस्थामा पुगेको बताउँदै सरकारले काममा आधारमा रकम भुक्तानी नगर्दा समयमा काम नसकिएको अवस्थाप्रति गाउँ समाजले नबुझेको टिप्पणी समेत गर्नुभयो । कार्यक्रममा निर्माण व्यवसायी महासंघका कोशी प्रदेश समिति अध्यक्ष जनक सुबेदी,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतम,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य र निर्माण व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष इन्द्र केदेम सहितले निर्माण व्यवसायी र निर्माण व्यवसाय क्षेत्रका पछिल्ला अवस्था बारे आ–आफ्नो धारणा राख्नु भएको थियो ।
निर्माण व्यवसायी संघ ताप्लेजुङका महासचिव युगराज गुरुङका अनुसार आइतवार र सोमवार हुने तालिममा विज्ञ केशवराज आचार्यले व्यवस्थापकीय पक्ष र महासंघका ईञ्जिनियर आयुष्मा श्रेष्ठले प्राविधिक पक्षका बिषयमा सहजीकरण गर्नहुने छ । तालिमको समापन हुनेदिन सोमवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पनि आउनु हुने भएको छ । सोमवार निर्माण व्यवसायी संघ ताप्लेजुङले आफ्नो बार्षिक साधारणसभा समेत गर्ने भएको छ भने सोहिदिन निर्माण व्यवसायी संघ ताप्लेजुङको भवन शिलान्यास समेत हुने कार्यक्रम राखिएको छ ।