|

संघीय लिम्बुवानद्वारा माथिल्लो तमोर आयोजनाको विरोध

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १६ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा निर्माण गर्न सुरु भएको माथिल्लो तमोर जलविधुत आयोजनाको संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपालले विरोध गरेको छ । सर्वपक्षीय सहमति नजुटाई जलविधुत आयोजनाको काम सुरु गरेकोभन्दै संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपाल फक्ताङ्लुङ गाउँ कार्यसमितिले विरोध गरेको हो ।
तमोर इनर्जी प्रालिले फक्ताङ्लुङ गाउँपालिका हुँदै बग्ने तमोर नदीबाट २८५ मेघावाट क्षमताको माथिल्लो तमोर जलविधुत आयोजना निर्माण गर्न सुरु गरेको छ । आयोजनाले लिम्बुवान प्रान्तिय मञ्चलाई थाहा नदिई काम सुरु गरेकोभन्दै विरोध गरेको छ । स्थानीय याक्थुङ लिम्बू समुदायको ऐतिहासिक पवित्र मन्धुमी स्थलका रुपमा रहेको तमोर नदीमा जबरजस्त आयोजना निर्माण गर्न लागेकोमा मञ्चको असहमति रहेको जनाइएको छ ।
ऐतिहासिक मुन्धमी तथा पवित्रस्थलमा हाइड्रोपावर परियोजना लागू गर्नुपूर्व स्थानीय भूमिपुत्र लिम्बूसहित आदिवासी समुदायसँग सहमति लिएर मात्र आयोजनाको काम गर्नुपर्नेभन्दै प्रान्तिय मञ्चले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको मञ्चले आफ्नो संगठन र स्थानीय लिम्बू आदिवासीहरुसँग छलफल र वार्ता गर्न पनि माग गरेको छ ।
मञ्चको गाउँ कार्यसमितिका अध्यक्ष अदीप लिम्बू तबेबुङ र सचिव सेमी लिम्बू याक्थुङ्बाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वार्ता र छलफल नगरी वा बिनासहमति स्थानीय स्वायत्तता र मुन्धुमी उद्गम स्थलमा निर्माण कम्पनीले डोजर चलाए अर्थात काम गरे स्वीकार्य नहुने चेतावनी दिइएको छ । ज्ञापनपत्रमा राज्य तथा माथिल्लो निकायसँग आयोजना निर्माण गर्ने अनुमति लिए पनि स्थानीय भूमिपुत्र रैथाने याक्थुङ लिम्बू समुदायसँग सहमति नगरेको, अन्तर्राष्ट्रिय श्रम संगठन आदिवासी समुदायको न्याय र अधिकार संरक्षित आइएलओ १६९ मा प्रदत्त अधिकार तथा व्यवस्थाको उल्लंघन भएको उल्लेख गरिएको छ ।
मञ्च भौतिक पूर्वाधार तथा विकास विरोधी नभएको प्रस्ट पार्दै नियम, कानुन, न्याय, अधिकारको कार्यान्वयन गरी विधि र सबै प्रक्रिया पुरा गरेर मात्र आयोजनाको काम सुरु गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउनुका साथै मंगलबार नै सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी माथिल्लो तमोर आयोजनाको विरोधबारे मञ्चले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा पहिचानवादी नेतृत्व मुक्साम लाबङलेसहमति नगरी निर्माण कम्पनीले आयोजनाको कामलाई निरन्तरता दिएमा विरोधसहित थप आन्दोनको कार्यक्रम अघि बढाउने उल्लेख गर्नुभयो ।

Similar Posts