कन्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका राईलाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १५ । सिरिजङ्घा महोत्सवको अवसरमा सञ्चालित कन्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङ राईले हात पार्नु भएको छ । उहाँले निर्धारित दूरी २ घण्टा ६ मिनेट २५ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद २ लाख ८ हजार ५ सय ८६ रुपैैयाँ पुरस्कार जित्नुभयो ।

प्रतियोगितामा जुम्लाका धिरजबहादुर बुढा दोस्रो बन्दै १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेण्डमा पार गर्नुभयो । हाफ म्याराथन व्यवस्थापन संयोजक निक्की नेम्बाङका अनुसार २ घण्टा १० मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतीय हुनुभयो । उहाँले नगद ५८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा चौथो देखि दशौं स्थानसम्ममा आइपुग्ने धाकलाई नगद ८ हजार ५ सय ८६ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गारिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले जानकारी दिनुभयो ।

सिरिजङ्गा गाउँपालिकाको आयोजनामा बैशाख १३ गते देखि पालिकाको वडा नं ८ याम्फुदिनस्थित नयाँ झोरेनी क्षेत्रमा महोत्सव आयोजना भएको थियो । महोत्सवको तेस्रो तथा अन्तिम दिन सोमवार हाफ म्याराथन प्रतियोगिता भएको हो । त्यहाँ याक तथा चौंरी प्रर्दशनी,साहित्यिक तथा साँस्कृतिक कार्यक्रम,कञ्चनजंघा आधार शिविर सम्मको भ्रमण सहितका कार्यक्रम भएका थिए । कन्चनजङ्घा हिमाल आरोहण तथा भ्रमणकाका लागि आउने पर्यटकको सहजताका निम्ति पालिकाले निर्माण गरेको नयाँ पैदलमार्गमा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Similar Posts