|

पाथीभरा याङ्वरकका वडामा घुम्ती शिविर सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ११ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रत्येक वडामा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाको सेवा वडाबाटै प्रवाह गर्ने गरी बुधबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलका अनुसार प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बुबाहेक अन्य सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन हुने छ । पहिलो दिन बुधबार वडा नम्बर १ नाङ्खोल्याङमा घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमार्फत लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण, ६० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सेवा प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
यस्तै शारीरिक रुपमा अशक्त (अपांग) नागरिकलाई आवश्यक सामग्री वितरण, वडामा सञ्चालन हुने योजना सम्झौता लगायतका सेवा शिविरमार्फत प्रदान गरिएको छ । नाङ्खोल्याङमा सञ्चालित घुम्ती शिविरमा गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङसमेतको प्रत्यक्ष उपस्थितिमा सेवाहरु प्रवाह गरिएको गाउँपालिका अध्यक्ष सुब्बाका स्वकीय सचिव तेजबिर मेन्याङ्बोले जानकारी दिनुभयो ।
घुम्ती शिविर बिहीबार वडा ३ तिरिंगेमा सञ्चालन भइरहेको छ भने वडा ४ डुम्रिसेमा शुक्रबार, वडा ५ चाक्सिबोटेमा आइतबार र वडा ६ थुम्बेदिनमा आउँदो सोमबार शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकदेखि नै वडा–वडामा घुम्ती शिविर सञ्चालन गरेर सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको छ । यसपटक तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

Similar Posts