चालु आवमा ७ जनाले लिए बैबाहिक अंगीकृत नागरिकता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ११ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक बर्ष २०८१।८२ मा ७ वटा बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयले चालु आवको यो अवधिमा ६ वटा गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको पनि प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चैत महिनामा २ सहित चालु आवमा ७ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरिएको हो । चैत महिनामा गैर आवासीय नेपाली नागरिकता प्रदान भएन । सो भन्दा अघि चालु आवको साउन देखि फागुन मसान्त सम्ममा भने ६ वटा गैर आवासीय नेपाली नागरिकता प्रदान भएको थियो । चालु आवको यो अवधिसम्मममा जन्मको सन्तानलाई बंशजको आधारमा दिईने नागरिकता भने प्रदान नगरिएको प्रशासन कार्यालयले जनाएको छ । चैत महिनामा मात्रै ७ वटा हतियारको नविकरण र एउटा हतियारको नामसारी भएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा अहिलेसम्म ८ वटा हतियारको नविकरण भएको छ ।

चालु आवमा ६१ वटा नावालक परिचयपत्र जारी हुँदा चैत महिनामा मात्र १२ वटा नावालक परिचयपत्र जारी भएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ । चालु आवमा प्रशासन कार्यालयमा एयटा भ्रष्टाचार सम्वन्धी मुद्दा दर्ता भएको छ । प्रशासन कार्यालयलाई अख्तियार दुरुपयोगसंग सम्वन्धित उजुरी समेत लिने जिम्मेवारी छ । ७४ हजार ६ सय ९२ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा तिमध्ये १ हजार ९ सय ४० जनाले मात्र परिचयपत्र कार्ड बुझेर लगेको प्रशासन कार्यालयले जनाएको छ । चैत महिनामा प्रशासन कार्यालयले २ सय ३९ जना सेवाग्राहीको राहदानीको अनलाइन फारम निःशुल्क भरिदिएको छ भने ५ सय ७२ जनालाई दैनिक रुपमा बिभिन्न काममा प्रयोग हुने निबेदन तथा आवश्यक कागजातको निःशुल्क फोटोकपी उपलब्ध गराइएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

 

Similar Posts