राष्ट्र र नागरिकको सेवामा कुनै सम्झौता नगर्न सशस्त्र डिआईजी सुबेदीद्धारा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । सशस्त्र प्रहरी वल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी) शम्भु सुबेदीले राष्ट्र र नागरिकको सेवामा कुनै सम्झौता नगर्न मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । सुबेदीले सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई राष्ट्रको सेवा गर्ने अवसरको रुपमा लिएर दायित्वबोध गर्नुपर्नेमा जोड दिनुभयो ।
सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको १५ औं बार्षिक उत्सवको अवसरमा बुधवार गुल्ममा आयोजित कार्यक्रममा बोल्दै सुबेदीले राष्ट्रले जित्यो भने मात्रै नागरिकको मुहारमा खुसी छाउने बताउनुभयो । राष्ट्रको सेवाभावमा अविचलित भई सिमित स्रोत साधनको अधिकतम् उपयोग गरेर राष्ट्र र जनताप्रतिको जिम्मेवारी पूरा गर्न उहाँले मातहतका शसस्त्र प्रहरी कर्मचारीलाई निर्देशन पनि दिनु भएको छ ।
डिआईजी सुबेदीले निर्वाचित सरकार,जनप्रतिनिधि, राष्ट्रका अंग र सरकारका निकायहरुको दृष्टीकोण पनि ‘राज्य पहिलो’प्राथमिकतामा रहेकोले सुरक्षा निकायहरु बैधानिक सरकारद्धारा प्राप्त भएका जिम्मेवारीलाई पूरा गर्न कतिपनि बिचलित नहुने विश्वास दिलाउनुभयो । संगठनमा अनुशासन,जिम्मेवारी र कर्तव्यबोध प्रथम पक्ष हुने भएकोले आफ्नो जिम्मेवारी अनुसारको दक्षता,ज्ञान र सीपको राष्ट्र र नागरिकको हितमा उचित र अधिकतम् उपयोग गर्न समेत सशस्त्र प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरीले अन्तरदेशीय सीमा सुरक्षा,आन्तरिक सुरक्षा,विपद् व्यवस्थापन र राजश्व अभिबृद्धि सहितका महत्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्दै आएको सुबेदीको भनाई थियो । उपस्थित जनप्रतिनिधिसंग आग्रह गर्दै डिआईजी सुबेदीले समयानुकूल नीतिगत,संरचनागत र संगठनात्मक सुधारमा योगदान दिने कुरामा विश्वास लिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले देश र राष्ट्रको हितमा सशस्त्र प्रहरीको भूमिका अहम् रहँदै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा सहितले सशस्त्र प्रहरी वल कञ्चनजंघा गुल्मले शान्ति सुरक्षा सहितका कार्यहरुमा निर्वाह गरिरहेको भूमिकाप्रति सह्राना व्यक्त गर्नु भएको छ ।
सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले गुल्म र मातहतका निकायका कार्यरत रही संगठनको हित र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान समेत गरेको छ । गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनका अनुसार उत्कृष्ट कार्य सम्पादन गरी दुई ग्रेड तलवबृद्धिसहित सशस्त्र प्रहरी जवानद्धय किरण लोप्चन र सुमन कार्की पुरस्कृत हुनुभयो ।
उत्कृष्ट कार्य सम्पादनका आधारमा सशस्त्र प्रहरी वल नेपाल ढुङ्गेसाँघु वेसका वेसपति सशस्त्र प्रहरी निरीक्षक योगाहाङ पतङ्वा,सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक अच्युतकुमार राई र सशस्त्र प्रहरी जवानद्धय सञ्जयकुमार तामाङ र रामप्रसाद रिजाल जनही नगद १ हजार रुपैयाँ सहित पुरस्कृत हुनुभयो ।
उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरु क्रमशःशिवचन्द्र जैसवाल,डिल्लीराम राई र युवराज अधिकारी,हवल्दारहरु क्रमशः रामप्रवेश राय यादव,चन्द्रहाङ लिम्बू,डिल्लीसागर अधिकारी,सनिल खड्का,गुणराज राई र सशस्त्र प्रहरी जवान झनक बानियाँ अभिलेखमा जनिने गरी प्रशंसापत्रबाट पुरस्कृत हुनुभयो । यस्तै सशस्त्र प्रहरी हवल्दार राजकुमार यक्सो चैत महिनाको उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी हुँदै सम्मानित हुनुभयो । स्थापना दिवसको अवसरमा भएको भलिबल,ब्याडमिन्टन,टेबलटेनिस र क्यारामबोर्ड खेलका बिजेतालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
२०६७ साल बैशाख १० गते स्थापना भएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मको २०६८ साल चैत ३० गते देखि फुङलिङ नगरपालिका वडा नं २ मा २८ रोपनी ५ आना बढी जग्गाको स्वामिहत्व सहित आफ्नै भवनमा रहेको छ । सुरुमा भने सशस्त्र प्रहरी वल फुङलिङमा रहेको वाल आवासगृहको भवनमा रहेको थियो । बार्षिक उत्सव कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,प्रहरी नायव उपरीक्षक रवि रावल,सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का सहितको उपस्थिति थियो ।