बैशाख १५ भित्र ताप्लेजुङको क्रियाशिल पार्टी सदस्यता विवरण र शुल्क केन्द्रमा बुझाउने काँग्रेस ताप्लेजुङको निर्णय

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ८ । नेपाली काँग्रेस ताप्लेजुङले २०८२ साल बैशाख १५ गते भित्र ताप्लेजुङको क्रियाशिल पार्टी सदस्यता विवरण र शुल्क केन्द्रमा बुझाउने भएको छ ।
काँग्रेस ताप्लेजुङको नियमित मासिक बैठकले नियमित मासिक बैठकले उक्त निर्णय गरेको जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले जानकारी दिनुभयो । काँग्रेसले अब जिल्ला कार्य समितिको नियमित बैठक पालिका स्तरमा घुम्ति बैठकको रुपमा गर्ने भएको छ । पहिलो घुम्ति बैठक मेरिङदेन गाउँपालिकामा जेठ ७ गते गर्ने निर्णय भएको समेत तुम्याहाङले बताउनुभयो ।
बैठकले पार्टीका पदाधिकारी तथा सदस्य,महासमिति सदस्य,महाधिबेशन प्रतिनिधि,सबै तहका जनप्रतिनिधि र पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति पाएका क्रियाशिल सदस्यहरुले पार्टीको निर्णय अनुसार तोकिएको लेवी,सहयोग र दायित्व चुक्ता नभई क्रियाशिल सदस्यता नविकरण नगर्ने निर्णय समेत गरेको छ ।
बैठकले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई जिल्ला तहसम्मको अधिबेशन सम्पन्न गराउन तथा विभागीय समितिलाई सक्रिय गराई विभागीय जिम्मेवारी प्रभावकारी रुपले सम्पादन गर्न समेत निर्देशन दिने निर्णय गरेको छ । पार्टी प्रवेश गर्न चाहनेहरुलाई प्रोत्साहित गर्न सम्वन्धित वडा कार्य समितिहरुलाई थप सक्रिय गराउने निर्णय समेत बैठकले गरेको सभापति तुम्याहाङले जानकारी दिनुभयो ।