ताप्लेजुङ पाथीभरा क्षेत्रको घटना: घाइते आमा छोरा लिएर ताप्लेजुङबाट ह्याम्स हस्पिटलका लागि उड्यो हेलिकोप्टर

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ८ । ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडी रहेको सवारीमा करेन्ट प्रवाह भई आगो लाग्दा भएको घटनाका घाइते आमाछोरालाई लिएर ताप्लेजुङबाट हेलिकोप्टर काठमाडौंका लागि उडेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार ह्यामस् हस्पिटलका लागि अन्नपूर्ण हेलिकोप्टर ताप्लेजुङबाट काठमाडौंका लागि उडेको हो । घाइते आमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने ४५ बर्षिय सबिना आचार्य तथा छोरा १० बर्षिय अभियम आचार्यलाई लिएर हेलिकोप्टर काठमाडौंका लागि प्रस्थान गरेको छ । सबिनाको शरिरका बिभिन्न भाग जलेको छ भने छोरा अभियमको स्वास्थ्य अवस्था जोखिममुक्त रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । घाइतेलाई लिन दुई बिशेषज्ञ चिकित्सक सहित सबिनाका श्रीमान् निरज आचार्य आफैं ताप्लेजुङ आउनु भएको थियो । उहाँ पेशाका चिकित्सक हुनुहुन्छ ।
सोमवार बिहान भएको घटनामा सबिना र निरजका १६ बर्षिया छोरी आध्या,सबिनाका बुबा झापा भद्रपुर १५ बस्ने ७० बर्षिय बिनोद पौडेल,उहाँकी श्रीमति ६९ बर्षिया सरतिा र नम्बर मे १ ज ३०११ को सवारीका चालक फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ बर्षिय दुर्गा भट्टराईको मृत्यु भइसकेको छ । बिहान पाथीभरा मन्दिरको दर्शनका लागि फुङलिङबाट हिंडेको सवारीमा पाथीभरा क्षेत्रको तेर्से र गुन्द्रे भन्ने स्थानको बिच भागमा सवारी माथि बिद्युतको लत्रिएको तार परेको थियो । सोहि बिद्युतको करेन्ट प्रवाह भई सवारी पूर्ण रुपमा जलेको छ भने सवार ६ मध्ये चालक सहित ४ जनाको ज्यान गएको छ ।