जबरजस्ति करणी उद्योग,चोरी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । ताप्लेजुङ प्रहरीले जबरजस्ति करणी उद्योग,चोरी र ज्यान मार्ने उद्योगमा कैद र जरीवाना ठहर भएका फरार प्रतिवादीलाई ११ बर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन घर भई हाल झापा जिल्लाको दमक बस्ने उत्तरे भनिने ४४ बर्ष तेजकुमार लिम्बू रहेका छन् । उनलाई खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सिँवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सावादिनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी कारागार चलान भएका छन् । पक्राउ परेका उनलाई कैद र जरीवाना असुल उपरका लागि ताप्लेजुङ जिल्ला अदालतमा पेश हुँदा बाँकी कैद र जरीवाना भुक्तानका लागि कारागार चलान गर्न अदालतले दिएको आदेश अनुसार कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका तेजकुमारलाई जबरजस्ति करणी उद्योग र चोरी मुद्दामा २०७६ साल जेठ २८ गते ताप्लेजुङ जिल्ला अदालतले दोषी ठहर गर्दै ६ बर्ष ६ महिना कैद र २ लाख २० हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो । उनी माथि ज्यान मार्ने उद्योगको समेत मुद्दा थियो । अदालतले उनीबिरुद्धको मुद्दाको सुनुवाई गर्दै २०७६ साल जेठ २८ गते मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी माथि २०७० साल माघ ७ गते धारिलो हतियार खुकुरी बोकेर ताप्लेजुङ जिल्लास्थित तत्काल ३६ बर्षिय एक महिलाको घरमा गएर खुकुरी देखाई अलैंची बिक्री गरी राखेको १ लाख रुपैयाँ चोरी गरी पीडितलाई मार्ने सम्मको धम्की दिई जबरजस्ति करणी उद्योग गरेको र पीडित आत्तिएर कराएपछि उनका देवरले सुनेको र निज देवर तत्काल घटनास्थलमा उपस्थित हुँदा निजलाई समेत मार्ने उद्देश्यले खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग थियो । त्यही बेलादेखि उनी फरार रहेको प्रहरीले बताएको छ ।

प्रहरीले संगठनप्रतिको इमान्दारित प्रस्तुत गर्दै कर्तव्यनिष्ठ ढंगले पेशामा प्रतिबद्ध रहेको भन्दै फरार प्रतिवादी पक्राउ गर्न खटिएका ५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको समेत जनाएको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक बर्षमा २१ जना फरार प्रतिवादी पक्राउ गरिसकेको समेत जानकारी दिएको छ । २१ जना प्रतिवादीले भुक्तान गर्न बाँकी रहेको १७ बर्ष ९ महिना ४ दिन कैद र ११ लाख ५३ हजार ५ सय ५८ रुपैयाँ ३४ पैसा असुल उपरका लागि ताप्लेजुङ जिल्ला अदालतमा पेश गरिएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

Similar Posts