ताप्लेजुङमा‘स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँ चितुवाको पाठ र सन्दर्भको आवश्यकता’सम्वन्धी कार्यशाला

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । बिद्यालयतहबाटै हिउँ चितुवा संरक्षणका अभियान अघि बढाउन ताप्लेजुङमा ‘स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँ चितुवाको पाठ र सन्दर्भको आवश्यकता’ सम्वन्धी कार्यशाला सुरु भएको छ ।
कार्यशालामा ताप्लेजुङको मिक्वाखोला,फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका हिउँ चितुवाको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आइरहेका बिद्यालयका शिक्षक देखि जनप्रतिनिधिसम्म सहभागी हुनुहुन्छ । टेका समूह नेपाल र स्नो लियोपार्ड कन्जरभेन्सीको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले उक्त कार्यशाला गरेको हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार ताप्लेजुङका मिक्वाखोला,फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका ६ वटा बिद्यालयको स्थानीय पाठ्यक्रममा हिउँ चितुवा संरक्षण शिक्षा समावेश भएका छन् । टेका समूहका कार्यकारी निर्देशक अनिल अधिकारीका अनुसार कार्यशालामा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमको प्रभावकारिता,हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकको मूल्याङ्कन,हिउँ चितुवा संरक्षण कार्यको अवस्था,हिउँ चितुवा संरक्षण शिक्षा सुरु हुनुभन्दा अघिको अवस्था र सुरु भएपछिको परिवर्तन लगायतका बिषयमा छलफल हुने छ ।
कार्यशालामा हिउँ चितुवा संरक्षण शिक्षाको प्रभावकारिताका लागि सन्दर्भ शिक्षक र समुदायको भूमिका खोजिने छ भने समूहगत छलफल समेत हुने छ । समूहगत छलफलमा सरोकारवालाको उपस्थितिको आवश्यकता,समुदायका सवाल,सहयोगी भावनाको बृद्धि,स्थानीय नेतृत्वकर्ताको पहिचान र परिचालन सहितका बिषय समेटिने अधिकारीले जानकारी दिनुभयो । हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि केदेम सुब्बाका अनुसार ताप्लेजुङका १३ वटा बिद्यालयमा रेडपाण्डा संरक्षण र हिउँ चितुवा संरक्षणका बारेमा स्थानीय पाठ्यक्रम तयार भई कार्यान्वयनमा रहेका छन् । फुङलिङ नगरपालिका ७ वटा बिद्यालयमा रेडपाण्डा संरक्षण सम्वन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा रहेको हिमाली संरक्षण मञ्चले जनाएको छ ।
कार्यक्रममा टेका समूहका कार्यकारी निर्देशक अधिकारी,फिल्ड कोअर्डिनेटर रोजिना घिमिरे,हिमाली संरक्षण मञ्चका कार्यक्रम निर्देशक राईले सहजीकरण गर्नहुने छ । टेका समूहका कार्यकारी निर्देशक अधिकारीका अनुसार बिगत ४ बर्षदेखि हिउँ चितुवा संरक्षण शिक्षा अन्तरगत स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आइरहेको छ । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईका अनुसार ताप्लेजुङमा रेडपाण्डा संरक्षण शिक्षा कक्षा ६ र ७ मा (भाग १ र भाग २) तथा कक्षा ६,७ र ८ मा हिउँ चितुवा संरक्षण शिक्षा(भाग १,भाग २ र भाग ३) कार्यान्वयनमा रहेको छ ।
कार्यशालाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति छिरिङ लामाले बिद्यालय तहबाटै दुर्लभ वन्यजन्तुहरुको संरक्षणका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आउनु पारिस्थितिकीय प्रणालीको सन्तुलनका लागि पनि सुखद् हुने बताउनुभयो । उहाँले संरक्षण शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरी बिद्यालयतहबाटै संरक्षणका अभियान प्रभावकारी बनाउन स्थानीय तहको बलियो सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । डिभिजन वन अधिकृत नथुनीप्रसाद गोहिवार यादवले दुर्लभ वन्यजन्तुको बासस्थान रहेको नेपालमा यिनिहरुको संरक्षणले नेपाली स्वाभीमान समेत उचो हुने भएकोले स्थानीय पाठ्यक्रममा संरक्षण शिक्षा समेटिनु सकारात्मक रहेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युगमणि सवेहाङले जैविक विविधताले धनी मानिएको नेपालमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षणका लागि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तको निर्माण र प्रवोधीकरण अनिवार्य आवश्यकताको बिषय भएको औंल्याउनुभयो । उहाँले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा निहित रहेकोले स्थानीय गाउँ शिक्षा समितिबाट पाठ्यक्रमको स्वीकृति र कार्यान्वयनमा सहयोग हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले स्थानीय परिवेश र सापेक्षतालाई आधार मानेर आधारभूत तह(कक्षा १–८)सम्मको पाठ्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनले व्यवहारिक र परिवेश सुहाउँदो ज्ञानमा बृद्धि गर्ने बताउनुभयो ।