सांसद भट्टराईको प्रतिक्रिया: बिरोध वा सर्मथन सभ्यताको सीमाभित्र हुनुपर्छ’

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ६ । प्रतिनिधिसभाका सदस्य तथा एमाले सचिव योगेशकुमार भट्टराईले बिरोध र सर्मथन सभ्यताको सीमाभित्र हुनुपर्ने बताउनु भएको छ ।
शुक्रवार हिजो गृह जिल्ला ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको लेलेपमा आयोजित कञ्चनजंघा हीरक महोत्सवको उद्घाटनको क्रममा पर्यटनमन्त्री बद्री पाण्डेसंगै कार्यक्रममा पुग्नु भएका भट्टराईलाई लक्षित गरी ‘नो केवलकार’ र पहिचानवादी समूहका कार्यकर्ताले भट्टराईबिरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रम सकेर हेलिकोप्टरमार्फत काठमाडौं फर्कने क्रममा शौचालय प्रवेश गरेका भट्टराई बिरुद्ध नाराबाजी र होहल्ला भएको थियो ।
उक्त घटना पछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘जसले जति जानेको छ र गर्न लगाईएको त्यति नै गर्ने हो,मेरो आग्रह विवेकले काम गरौं,प्रायोजकको हतियार नबनौं,सामाजिक एकता र सद्भाव कायम राखौं’भनेर लेख्नु भएको छ । आफु बिरुद्ध २–४ जनाले लगाएको नारा नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोगको रुपमा आफुले लिएको भट्टराईले टिप्प्णी गर्नु भएको छ । यसमा आफुलाई कुनै दुःख नलागेको उहाँको प्रतिक्रिया छ । तर ‘बिरोध वा सर्मथन सभ्यताको सीमाभित्र हुनुपर्छ’उहाँले भन्नु भएको छ ।