मैवाखोलाले अब योजना बैंकमा समावेश भएका योजनालाई मात्र बजेट बिनियोजन गर्ने,मागियो योजना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना बैंकमा समावेश भएका योजनालाई मात्र आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्नेगरी पालिकास्तरीय योजना माग गर्न आवह्वान गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले २०८२ साल बैशाख ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेअनुसार सम्वन्धित सरोकारवालाबाट पालिकास्तरीय योजना माग गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब पालिका स्तरीय योजनाका लागि सम्वन्धित वडा कार्यालय,टोल विकास संस्था र अन्य सरोकारवालाले बैशाख १९ गते भित्र योजना माग गरिसक्नुपर्ने हुन्छ ।

गोम्देनका अनुसार पालिकाबाट योजनाको पहिचान,छनौट र कार्यान्वयन गर्नका लागि सरोकारवालाबाट योजनाको माग गरी माग गरिएका योजनाहरुमध्येबाट प्राथकितामा आधारमा आगामी आर्थिक बर्षको बजेटबाट कार्यान्वयन हुनेगरी छनौट भएका योजनालाई पालिकाको योजना बैंकमा समावेश गरिने छ ।

योजना माग गर्दा वडा कार्यालयले पालिकाले दिएको ढाँचामा फाराम भरी पालिकाको सम्वन्धित शाखामा पेश गर्नुपर्ने हुन्छ भने सरोकारवालाले वडा कार्यालयको सिफारिस समेत संलग्न राखी पेश गर्नुपर्ने हुन्छ । योजना माग गर्दा विकास कार्यक्रम र योजना वर्गिकरण गरी क्षेत्रगत आधारमा गर्नुपर्ने समेत पालिकाले जनाएको छ ।

पालिकाका अनुसार शिक्षा सम्वन्धी,स्वास्थ्य तथा पोषण सम्वन्धी,खानेपानी तथा सरसफाई सम्वन्धी,युवा तथा खेलकुद,लक्षित वर्ग तथा सामाजिक समावेशीकरण र भाषा,कला,साहित्य र संस्कृतिसंग सम्वन्धित योजना सामाजिक विकास समितिमा पेश गर्नुपर्ने हुन्छ ।

आर्थिक विकास समितिमा कृषि,पशुपंक्षि,सिचाँई,सहकारी,उद्योग तथा सहकारी,उद्यम विकास,पर्यटन र श्रम तथा रोजगार सम्वन्धी योजना पेश गर्नुपर्ने पालिकाले जनाएको छ । पूर्वाधार विकास समितिमा सडक तथा पुलपुलेसा,भवन,बस्ती विकास तथा खेलमैदान,सूचना,सञ्चार र प्रविधि सम्वन्धी र नविकरणीय उर्जा सम्वन्धी आयोजना पेश गर्न पालिकाले भनेको छ ।

वन,वातावरण तथा विपद् व्यवस्थापन समितिमा वन तथा जैविक विवधितासंग सम्वन्धित,वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन,विपद् व्यवस्थापन,जलवायु परिवर्तन र अनुकूलन योजना र सुशासन तथा संस्थागत विकास समितिमा सुशासन तथा संस्थागत विकाससंग सम्वन्धित योजना पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

पेश भएका योजनामध्येबाट प्राथमिकता,आवश्यकता र औचित्यका आधारमा पालिकाले निर्णय गरी योजना बैंकमा समावेश गर्ने छ भने योजना बैंकमा समावेश भएका योजनालाई मात्र आगामी आवको योजनाको रुपमा बजेट बिनियोजन हुने मैवाखोलाले जनाएको छ । यसअघि पाथीभरा याङवरक गाउँपालिकाले समेत सम्वन्धितबाट योजना माग गरेको थियो ।

 

Similar Posts