पाथीभरा याङवरका प्रत्येक वडामा घुम्ति शिविर हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले बैशाख १० गते देखि प्रत्येक वडाहरुमा पुगेर घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलका अनुसार पालिकाको केन्द्र रहेको वडा नं २ थेचम्बु बाहेक पालिकाका अन्य ५ वडा वडाका नागरिकहरुका लागि घुम्ति सेवा शिविर सञ्चालन गर्न लागिएको हो । बैशाख १० गते बुधवार वडा नं १ नाङखोल्याङबाट सुरु हुने शिविर ११ गते वडा नं ३ तिरिङ्गे,१२ गते वडा नं ४ डुम्रिसे,१४ गते वडा नं ५ चाक्सिबोटे र १५ गते वडा नं ६ थुम्बेदिनमा सञ्चालन हुने छ । शिविरमा सम्झौता हुन बाँकी योजनाको सम्वन्धित सम्झौता गरिने भएको छ भने सामाजिक सुरक्षा भत्ता समेत बितरण गरिने भएको छ ।
६० बर्ष माथि उमेर समूहका नागरिकहरुको सुगर,प्रेसर,पल्स र अक्सिजन परीक्षण समेत गरिने पालिकाले जनाएको छ । नावालक बाहेक सामाजिक सुरक्षा भत्ता लिनका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने समेत पालिकाले जानकारी दिएको छ । योजना सम्झौताका लागि आम भेला र उपभोक्ता समितिको निर्णयको प्रतिलिपि,समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि,वडा कार्यालयको सिफारिस र प्राविधिक ईष्टिमेट समेत संलग्न राख्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । यस्तै स्वास्थ्य जाँच गर्ने ६० बर्ष माथि उमेर समूहका नागरिकले नागरिकता प्रमाणपत्र लिएर आउनुपर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता लिन आउनेहरुले सामाजिक सुरक्षा भत्ता परिचयपत्र,नेपाली नागरिकताको प्रमाणपत्र,नावालकको हकमा जन्मदर्ता र संरक्षकको नेपाली नागरिकताको प्रमाणपत्र तथा अपाङ्गताको हकमा अपाङ्गता परिचयपत्र साथमा लिएर आउन पालिकाले सूचित गरेको छ ।