टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार गुरुङलाई दिन सिफारिस

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । यसबर्षको स्वर्गीय टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङलाई दिन पत्रकार महासंघ ताप्लेजुङले सिफारिस गरेको छ ।

पत्रकार महासंघ ताप्लेजुङले गुरुङलाई उक्त पुरस्कार बितरण गर्न उपयुक्त हुने राय सहित टीकाराम गौतम स्मृति प्रतिष्ठानलाई सिफारिस गरेको महासंघका जिल्ला सचिव कृष्ण फुरुम्बो लिम्बूले जानकारी दिनुभयो । गुरुङ लामो समय देखि पत्रकारिता र अधिकार रक्षाको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँ जिल्ला बाल इजलासमा समेत सहजकर्ताको रुपमा काम गर्नुहुन्छ । यो इजलासमार्फत बाल बिज्याँईका मुद्दाहरु हेर्ने गरिन्छ । करिव एकदशक अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)को जिल्ला प्रतिनिधि समेत भएर काम गर्नु भएका गुरुङ अहिले भने त्यो जिम्मेवारीबाट अलग हुनुहुन्छ । उहाँ नेत्रज्योति संघ ताप्लेजुङका कार्य समिति सदस्य तथा निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन(प्याब्सन) ताप्लेजुङका उपाध्यक्ष समेत हुनुहुन्छ ।

टीकाराम गौतम स्मृति प्रतिष्ठानले २०६९ सालबाट हरेकबर्ष एक उत्कृष्ट पत्रकार,एक उत्कृष्ट समाजसेवी र रेडक्रस ताप्लेजुङका उपशाखामध्ये उत्कृष्ट एक उपशाखालाई सम्मान गर्दै आइरहेको छ । उत्कृष्ट समाजसेवी वा सामाजिक कार्यकर्ता र उत्कृष्ट उपशाखाको छनौटको काम भइरहेको टीकाराम गौतम स्मृति प्रतिष्ठानले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकाराम गौतमको २०६६ साल कात्तिक ११ गते ह्रृदयघातका कारण निधन भएको थियो ।

२०१३ साल बैशाख ९ गते जन्मनु भएका गौतमको जन्म जयन्तीको अवसर पारेर टीकाराम गौतम स्मृति प्रतिष्ठानले हरेक बर्षको बैशाख ९ गते गौतमको स्मृतिसभा तथा पुरस्कार बितरण कार्यक्रम गर्दै आइरहेको छ । स्वर्गीय गौतम २०३८ सालमा नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको उपकोषाध्यक्ष पदको जिम्मेवारी सहित रेडक्रस सोसाईटीमा संस्थागत रुपले आबद्ध हुनु भएको थियो । बिक्रम् सम्वत २०४२ साल देखि २०५४ सम्म नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको मन्त्री(सचिव) हुनु भएका उहाँ २०५४ साल देखि मृत्यु पर्यन्त जिल्ला सभापति हुनुहुन्थ्यो ।

Similar Posts