कञ्चनजंघा हीरक महोत्सव : अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २ । कञ्चनजंघा हीरक महोत्सवको अवसरमा हुने अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
महोत्सवको मुख्य आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार बैशाख ३ गते हुने पहिलो खेलमा समूह‘क’मा रहेको आयोजक फक्ताङलुङ गाउँपालिकाको भीडन्त फुङलिङ नगरपालिकासँग हुने भएको छ । बैशाख ३ गतेनै हुने दोस्रो खेलमा समूह‘ख’मा रहेको मिक्वाखोला गाउँपालिकाले सोहि समूहको सिरिजङ्गा गाउँपालिकासंग स्पर्धा गर्ने भएको छ । बैशाख ४ गते तेस्रो खेलमा समूह‘क’मा रहेको सिदिङ्वा गाउँपालिकाले सोहि समूहमा रहेको आमन्त्रित पाँचथरको याङ्वरक गाउँपालिकासंग खेल खेल्ने छ । सोहि दिन हुने चौथो खेलमा समूह‘ख’मा रहेको पाथीभरा याङ्वरक गाउँपालिकाले मेरिङदेन गाउँपालिकाको सामना गर्ने छ । समूह चरणका खेल सकिएपछि सेमीफाईनल र फाइनल चरणका खेल हुने भएका छन् ।
कञ्चनजंघा आरोहणको ७० औं बर्ष पूरा भएको अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को मुख्य संयोजन, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय र समृद्धि पहाड परियोजनाको सहभागिता तथा साझेदारीमा बैशाख ५–७ गते सम्म फक्ताङलुङ गाउँपालिकाको लेलेपमा हीरक महोत्सव हुँदैछ । अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता महोत्सव अन्तरगतकै एक कार्यक्रम भएको परिषद्का सदस्य तथा कञ्चनजंघा हीरक महोत्सव खेल समिति संयोजक सन्तोष लिम्बूले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा ताप्लेजुङका आठराई त्रिबेणी र मैवाखोला बाहेक ७ तथा पाँचथरको याङवरक गाउँपालिका सहित ८ टिमको सहभागिता रहने छ । नकाउटका आधारमा खेल खेलाईने समेत लिम्बूले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेताले नगद २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ तथा उपबिजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बिधागततर्फ सर्बोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेण्डर,उत्कृष्ट सेटर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर र उत्कृष्ट क्विकरलाई जनही नगद ३ हजार ५ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र दिईने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख ९ हजार रुपैयाँको लागत अनुमान गरिएको समेत खेल संयोजक लिम्बूले जानकारी दिनुभयो ।