मैवाखोलाले अघि बढायो विपद् पीडितलाई स्थायी पुर्नवासको प्रकृया,लुकुवा क्षेत्रमा जग्गा टुङ्गोटाङ्गी गरिदैं

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३० । अस्थायी एकीकृत आवासस्थलमा रहेका विपद् पीडितलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा नं ३ लुकुवा क्षेत्रमा स्थायी पुर्नवास गराउने गरी गृहकार्य अघि बढाएको छ ।

गाउँपालिकाले लुकुवा क्षेत्रमा करिव ७० रोपनी जग्गाको व्यवस्थापन गरी स्थायी एकीकृत आवास केन्द्र बनाउने प्रकृया अघि बढाएको हो । गाउँपालिकाका प्रवक्ता एवम् पालिकाको वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार लुकुवा क्षेत्रमा प्रतिरोपनी तीनलाख ५० हजार रुपैयाँमा जग्गाको स्वामित्व पालिकामा आउनेगरी जग्गाधनीसंग कुरा टुङ्गिएको छ । अब चाँडै जग्गा प्राप्तिको प्रकृया अघि बढ्ने समेत उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले स्थायी पुर्नवासका लागि छानिएको जग्गाको माटोमा आवास स्थल बनाउन उपयुक्त हुने वा नहुने भन्ने बिषयमा माटो परीक्षण समेत गरिएको जानकारी दिनुभयो । माटो परीक्षण प्रतिबेदनमा स्थायी पुर्नवासस्थल निर्माण गर्न सकिने अवस्था देखिएको पालिकाले बताएको छ । माटो परीक्षण प्रतिबेदनका आधारमा पालिकाले लुकुवा क्षेत्रको उक्त जग्गा पालिकाको स्वामित्वमा प्राप्त गरी विपद् पीडितका लागि स्थायी आवासगृह बनाउने कार्य सुरु गर्ने छ ।

बाढीपहिरोका कारण विस्थापित तथा उच्च जोखिममा परेका पालिकाका ६५ पहिरो प्रभावित परिवारलाई पालिकाले २०८० साल असोज ८ गते एकीकृत अस्थायी आवासस्थल निर्माण गरी हस्तान्तरण गरेको थियो । अब स्थायी एकीकृत आवासस्थल निर्माण भएपछि पालिकाले निर्माण मदन भण्डारी रंगशलामा निर्माण गरेको अस्थायी आवासस्थल खाली गरी निर्माणाधिन रंगशालालाई समेत पूर्णता दिने प्रकृया अघि बढाईने भएको छ । अस्थायी आवासस्थलमा मैवाखोला गाउँपालिका वडा नं ४ साँघु ओदक टोलका ६२ परिवार,ताम्राङ टोलका दुई र वडा नं ३ का एकगरी ६५ परिवार रहेका थिए । पहिरो पीडित ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई परिवार लिम्बू समुदायका रहेको गाउँपालिकाले जनाएको छ । अस्थायी आवासस्थलमा रहेका परिवारमध्ये केहिभने यो आवासस्थलबाट बाहिरिएका छन् ।

२०८० साल असार महिनामा आएको भीषण बाढी तथा पहिरोका कारण बिस्थापित भएका तथा उच्च जोखिममा रहेका परिवारलाई मैवाखोलाले निर्माणाधिन अस्थायी रंगशालामा अस्थायी एकीकृत आवासस्थल बनाई सुरक्षित गरेको थियो । अब पालिकाले विपद् पीडित परिवारलाई एकीकृत स्थायी आवासस्थल निर्माण गरी स्थायी रुपमै पुर्नवासमा राख्ने भएको छ । अस्थायी आवास गृह निर्माणका लागि श्रमदानसमेत एक करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँ खर्च भएको थियो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार अस्थायी आवास गृह निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय,व्यक्ति तथा संस्थाबाट ५५ लाख ९२ हजार ७७० रुपैयाँ सहयोग भएको थियो । यस्तै गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपैयाँ र श्रमदानबापत ६८ लाख एक हजार रुपैयाँ बराबर खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तयार पारेको अस्थायी एकीकृत आवासस्थल ।

Similar Posts