सिरिजङ्गा महोत्सवको तयारी तीव्र,महोत्सवका बारेमा राय सुझाव लिन सर्वदलिय तथा सर्वपक्षिय छलफल गरियो

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । आउँदो बैशाख १३ देखि १५ गते सम्म हुने सिरिजङ्गा महोत्सवका सन्दर्भमा आयोजक सिरिजङ्गा गाउँपालिकाले सर्वदलिय तथा सर्वपक्षिय छलफल सम्पन्न गरेको छ ।
महोत्सव भव्य रुपमा सम्पन्न गर्ने क्रममा सरोकारवालाको राय तथा सुझाव ग्रहणका लागि छलफल कार्यक्रम आयोजना गरिएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले जानकारी दिनुभयो । छलफलका क्रममा आयोजक सिरिजङ्गा गाउँपालिकाले महोत्सवमा सक्रिय सहभागिता जनाइदिन तथा महोत्सव सञ्चालनको क्रममा गर्नुपर्ने तयारी बारे राय सुझाव दिन उपस्थित व्यत्तित्वहरुसंग प्रस्ताव गरेको थियो । उपस्थित राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले महोत्सव सफल पार्न आ–आफ्नोतर्फबाट सक्रिय सहयोग हुने विश्वास दिलाएको सिरिजङ्गा गाउँपालिकाले जनाएको छ ।
यसबर्ष सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनको नयाँ झोरेनीमा महोत्सव गर्न लागिएको छ । समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता सहितका कार्यक्रम गरेर सिरिजङ्गा महोत्सव आयोजना हुँदै छ । हाफ म्याराथन प्रतियोगिताका विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार दिइने छ । यस्तै दोस्रो हुनेलाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ८५ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ । सोही उचाइलाई आधार मानेर अन्तिम पुरस्कार राशि पनि ८ हजार ५ सय ८६ को रुपमा मिलाइएको पालिकाले जनाएको छ । म्याराथनका लागि नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ–दुण्दुडाँडा–ढाँडचौक–भेडी चोक हुँदै मछेवा पुग्ने करिब २४ किलोमिटर दूरीमा तय गरिएको छ । म्याराथनसँगै माउन्टेन साइक्लिङ समेत सञ्चालन गर्ने पालिकाको तयारी छ ।
नयाँ झोरनी क्षेत्रमा साँस्कृतिक तथा साहित्यिक कार्यक्रम समेत हुने भएका छन् । त्यसका लागि साहित्य क्षेत्रका उर्वर व्यत्तित्व नवराज पराजुली देखि गायन र साँस्कृतिक क्षेत्रमा नाम चलेका गायकहरु समेतको सहभागिता रहने भएको छ । याक र चौंरी व्यवसायिक पालन हुने उक्त क्षेत्रमा याक र चौंरीको व्यवसायिक प्रवद्र्धनका लागि याक र चौंरी प्रर्दशनी कार्यक्रम समेत राखिएको छ ।