ताप्लेजुङ जिससले कर्मचारीलाई दियो विभागीय जिम्मेवारी

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । जिल्ला समन्वय समिति ताप्लेजुङले कार्यरत कर्मचारीहरुलाई विभागीय जिम्मेवारी प्रदान गरेको छ ।

समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार कार्यालयमा असिष्टेन्ट सव इञ्जिनियर प्रकाश गुरुङलाई व्यवस्थापन शाखा र जिन्सी शाखाको जिम्मेवारी प्रदान भएको छ । यो शाखामार्फत दैनिक प्रशासन कार्य,दर्ता,चलानी र पत्र व्यवहार,अन्य व्यवस्थापनका कार्य,गैर सरकारी संस्था सम्वन्धी कार्य,साविक जिल्ला विकास समितिमा दर्ता भएका तर हस्तान्तरण नभएका समिति संगठनहरुको नियमन सम्वन्धी कार्य हुने भएका छन् । जिन्सी शाखामार्फत खरिद योजना तयार गर्ने,खरिद कार्य गर्ने,अभिलेख राख्ने,जिन्सी सामग्रीको संरक्षण गर्ने,जिन्सी निरीक्षण गर्ने गराउने,लिलाम तथा मिनाह सम्वन्धी कार्य गर्ने,कार्यालयको स्वामित्वका सम्पत्ति मर्मत सम्भार र संरक्षण सम्वन्धी कार्य गर्ने जिम्मेवारी छ ।

गुरुङ अनुगमन तथा मूल्याङ्कन शाखाको जिम्मेवारीमा समेत हुनुहुन्छ । यो शाखामार्फत स्थानीय तहहरुमा सञ्चालित योजना तथा आयोजनाको मूल्याङ्कन तथा अनुगमन सम्वन्धी कार्य हुने गर्छ । यस्तै लेखापाल समिर निरौलालाई आर्थिक प्रशासन शाखाको जिम्मेवारी प्रदान भएको छ । यो शाखामार्फत कार्यालयको बार्षिक बजेट तर्जुमा,प्रचलित कानुन अनुसार निकासा र खर्चको अभिलेखीकरण,कार्यालयको आन्तरिक स्रोतको आम्दानी तथा खर्चको विवरण राख्ने,आयव्यय तथा धरौटीको हिसाव किताव राख्ने,पेश्की तथा बेरुजुको असुल फस्र्योट गर्ने गराउने र जिससको मौज्दात कोषको परिचालन गर्ने दायित्व रहेको छ ।

समितिको सचिवालयको जिम्मेवारी स्वकीय सचिव कमानसिंह लामा(सागर)लाई दिईएको छ । सचिवालयमार्फत जिल्ला समन्वय समितिबाट सम्पादन हुने कार्यहरुको व्यवस्थापन र अद्यावधिक गर्ने कार्य हुनेछन् भने जिसस प्रमुखको सहयोगीको भूमिका निर्वाह समेत स्वकीय सचिवालयबाट हुने छ । सम्वन्धित ऐन,नियम,कानुनका साथै विभागीय नीति नियम,कार्यविधि र निर्देशन बमोजिम जिल्ला सभा र समितिबाट भएका निर्णय कार्यान्वयन र निर्णय उपर गुनासो सुन्ने जिम्मेवारी जिल्ला समन्वय अधिकारी प्रतिभा राईको हुने छ । राई जिल्ला समन्वय अधिकारी बनेर आउनुपूर्व नायव सुब्बा युवराज पौडेल निमित्त जिल्ला समन्वय अधिकारीको रुपमा रहनु भएको थियो ।

Similar Posts