ग्याब्ला क्षेत्र विद्युतीकरणको प्रकृयामा सामेल,१५ किलोवाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना बन्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ ग्याब्ला क्षेत्र बिद्युतीकरणको प्रकृयामा अघि बढेको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले फक्ताङलुङ गाउँपालिकाको १० प्रतिशत साझेदारीमा १५ किलोवाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना बढाउन स्रोत सुनिश्चित गरेसंगै ग्याब्ला क्षेत्र अब स्थायी रुपमै उज्यालो युगमा जान लागेको छ । फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र पालिकाको १० प्रतिशत लागत साझेदारीमा नागपोखरी लघु जलविद्युत योजना अघि बढ्न लागेको जानकारी दिनुभयो । कुल १ करोड ७२ लाख ८८ हजार १ सय ८१ रुपैयाँ २४ पैसामा बन्ने १५ किलोवाट क्षमताको नागपोखरी लघु जलविद्युत योजनाका लागि गाउँपालिकाले व्यहोर्नुपर्ने १७ लाख २८ हजार ८ सय १८ रुपैयाँ २४ पैसा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको खातामा जम्मा गरिसकेको पालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य शेर्पाले अब केहिदिनमै नागपोखरी लघु जलविद्युत योजना निर्माणका लागि बोलपत्र आवह्वान हुने जानकारी दिनुभयो । सरकारले आगामी तीनबर्ष भित्र देशका सम्पूर्ण घरधुरीहरुमा विद्युतीकरण गर्ने लक्ष्य लिएको छ । विद्युतको राष्ट्रिय प्रसारण लाइनको पहुँच भन्दा बाहिर रहेका क्षेत्रहरुमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा स्थानीय तहका साथै सामुदायिक संस्थाहरुले १० किलोवाट क्षमता भन्दा माथि एकहजार किलोवाट क्षमता सम्मका लघु तथा साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन तथा बितरण गरेमा केन्द्रले ९० प्रतिशत लागत साझेदारी गर्ने व्यवस्था रहेको छ । सोहि अनुरुप वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यसपटक १५ किलोवाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना छनौट गरेको हो ।