फक्ताङलुङ गाउँपालिकाद्धारा शिक्षक समेतको सहभागितामा बैशाख २ गते देखि हप्तादिन भर्ना अभियान चलाउन निर्देशन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८२ का लागि आउँदो बैशाख २ गतेदेखि एकहप्तासम्म बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको घरघरमा शिक्षकहरु सहित प्रत्यक्ष उपस्थित भइ भर्ना अभियान चलाउन आवह्वान गरेको छ ।

पेशागत शिक्षक संघसंगठनले भने सडक आन्दोलनका लागि काठमाडौं केन्द्रित हुन शिक्षकहरुलाई आवह्वान गरेका छन् । फक्ताङलुङ गाउँपालिकाले आफ्नो टोलमा रहेका हरेक घरहरु तथा आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थी एवम् अभिभावकहरुको घरघरमा शिक्षकहरु सहित प्रत्यक्ष उपस्थित भएर भर्ना अभियान सञ्चालन गर्न सम्वन्धित पक्षलाई आवह्वान गरेको छ । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाका ४० वटै सामुदायिक बिद्यालयहरुलाई भर्ना अभियानका लागि आवह्वान गर्दै भर्ना अभियानका क्रममा शिक्षक–अभिभावक छलफल कार्यक्रम सञ्चालन गरी उक्त कार्यक्रमका लागि हरेक अभिभावकको घर–घरमा पुगेर अभिभावकसंग छलफल गरेको फोटो सहितको प्रतिबेदन २०८२ साल बैशाख २० गते भित्र पालिकाको शिक्षा शाखामा पेश गर्न भन्नु भएको छ ।

पालिकाले पालिकाभरीका सामुदायिक बिद्यालयहरुलाई बिभिन्न निकायबाट बजेट बिनियोजन भएका स्वीकृत योजनाहरु बिद्यालयको निगारानीमा सम्वन्धित वडाको टोल विकास संस्था वा गाउँपालिकामार्फत गर्न निर्देशन समेत दिएको छ । यस्ता योजनाहरु बिद्यालय आफैंले कार्यान्वयन गर्दा दैनिक पठनपाठन गराउने प्रधानाध्यापक तथा शिक्षकहरु पठनपाठन छाडेर उक्त कार्यक्रमको कागजात मिलाउने,निकासा प्रकृयामा धाउने लगायतका कार्यमा संलग्न हुँदा शैक्षिक कार्यक्रम प्रभावित भएको पालिकाको निश्कर्ष रहेको छ । पालिकाले बिद्यालयले यस्ता निर्माण,खरिद जस्ता योजना आयोजनाहरु बिद्यालयमार्फत नगराई बिद्यालयको निगारानीमा सम्वन्धित वडाको टोल विकास संस्था वा गाउँपालिकामार्फत गराउन निर्देशन दिएको छ ।

 

Similar Posts