|

ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २४ । ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । संघीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एईडी) मेशिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो ।
उक्त स्वास्थ्य सामग्री अर्थात एईडी मेशिन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले अस्पताललाई प्रदान गर्नुभएको छ । मन्त्री हाङगामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट डा. प्रनाम जयरुलाई एईडी मेशिन हस्तान्तरण गर्नुभएको हो ।
संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको प्रदेशमन्त्री हाङगामको सचिवालयले जनाएको छ । हृदयघातजस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एईडी मेशिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने बताइएको छ ।
दुर्गम जिल्लाको अस्पताललाई धेरै महत्वपूर्ण मेशिन प्राप्त भएकाले जिल्लावासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङगामले बताउनुभयो । सुविधा सम्पन्न स्वास्थ्य संस्था साथै अस्पतालको पहुँचभन्दा टाढा रहेको क्षेत्रमा एईडीजस्तो महत्वपूर्ण स्वास्थ्य उपकरण प्राप्त भएको र यसलाई सही प्रयोग गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

Similar Posts