जिल्लाकै शिक्षालयमा अध्ययन गर्ने बिद्यार्थीको शैक्षिक शुल्क तिर्ने अभियानमा फक्ताङलुङ र मेरिङदेन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २१ । जिल्लाकै शिक्षालयमा उच्च शिक्षा अध्यापन गराउन प्रोत्साहित गर्ने उद्देश्यले ताप्लेजुङको फक्ताङलुङ र मेरिङदेन गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्न चाहने पालिकाका बासिन्दालाई पाथीभरा बहुमुखी क्याम्पसमा लाग्ने अध्ययन शुल्क तिरिदिने भएका छन् ।

फक्ताङलुङ गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रबाटै उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरीका बिद्यालयलाई पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्दा लाग्ने शुल्क तिरिदिदैं आएको छ भने मेरिङदेनले आगामी शैक्षिक सत्रले उक्त शुल्क तिरिदिने घोषणा गरेको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जिल्लाकै शिक्षालयमार्फत उच्च शिक्षा अध्यापन गराउँला लाग्ने शुल्क पालिकाले तिर्नेगरी भएको नीतिगत प्रवन्धलाई आउँदो शैक्षिक सत्रमा पनि निरन्तरता दिने बताउनुभयो ।‘पहिलो कुरा त जिल्लाकै शिक्षालयमा शिक्षण गर्न प्रोत्साहित पनि हुन्छ,अर्कोतर्फ जिल्लामै बसेर उच्च शिक्षा अध्ययन गर्न समेत सहज हुने भएकोले हामी यो निर्णयमा निरन्तर रहने छौं’पालिका अध्यक्ष लिम्बूले भन्नुभयो ।

फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले अघिल्लो शैक्षिक सत्रबाट पालिकाले थालेको अभियान प्रभावकारी रहेको र यसलाई निरन्तरता दिने बिषयमा आफुहरु अलिकति पनि तलमाथि नभएको बताउँनुहुन्छ । फक्ताङलुङले सुरु गरेको अभियानमा मेरिङदेन गाउँपालिकापनि थप भएकोप्रति उनले प्रसन्नता व्यक्त गर्नु भएको छ । त्रिभुवन विश्व बिद्यालयबाट सम्वन्धन प्राप्त पाथीभरा बहुमुखी क्याम्पस सरकार र अन्य निकायबाट नियमगत रुपले प्राप्त हुने अनुदान बाहेक बिद्यार्थीको शैक्षिक शुल्कबाट चलिरहेको शिक्षण संस्था हो । अहिले यहाँ स्नातकोत्तर सम्मको पढाई भइरहेको छ ।

फक्ताङलुङ गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार पालिकाबाट आउँदो शैक्षिक बर्षबाट उच्च शिक्षा अध्ययन गर्नेको संख्या करिव १ सय ४५ हुने छ । अघिल्लो शैक्षिक सत्रमा पालिकाले उच्च शिक्षा अध्ययन गर्ने १ सय २८ बिद्यार्थीको शैक्षिक शुल्क वापत करिव २३ लाख रुपैयाँ पाथीभरा क्याम्पसमा भुक्तानी गरेको पालिकाले जनाएको छ । संकाय र तहगत रुपमा बिद्यार्थीको शैक्षिक शुल्क तोकिएको हुन्छ ।

उता,मेरिङदेन गाउँपालिकाले आउँदो शैक्षिक सत्रदेखि लागुहुने गरी उच्च शिक्षा अध्ययन गर्ने पालिकाका बिद्यार्थीका लागि पाथीभरा बहुमुखी क्याम्पसमा शैक्षिक शुल्क तिरिदिने घोषणा गरेको छ । पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले क्याम्पसमै आयोजित एक कार्यक्रममार्फत उक्त घोषणा गर्नु भएको छ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम जिल्लाकै शिक्षण संस्थामा अध्ययन प्रोत्साहित गर्न पालिकाहरुमार्फत भएका प्रयास सह्रानीय रहेको बताउँनुहुन्छ ।‘यसले जिल्लाकै शिक्षण संस्थामा अध्ययन गर्न गराउन पनि सहयोग पुग्छ र बिद्यार्थीलाई समेत जिल्लाकै शिक्षण निकायमार्फत उच्च शिक्षा अध्ययन गर्ने चाहना पनि पूरा गर्छ’इजमले भन्नुभयो ।

ताप्लेजुङको फुङलिङमा पाथीभरा बहुमुखी क्याम्पस रहेको छ भने प्राविधिक बिषय समेत पढाई हुनेगरी सिरिजङ्गा गाउँपालिकाको सिनाममा सिनाम बहुमुखी क्याम्पस रहेको छ । सिनाममा भने स्नातक तहसम्मको पढाई हुने गरेको छ ।

 

Similar Posts