सिरिजङ्गाद्धारा याम्फुदिनमा होमस्टे सञ्चालनको तयारी,इच्छुकसंग मागियो आबेदन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाको वडा नं ८ याम्फुदिनमा होमस्टे स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ ।
याम्फुदिन पर्यटकिय क्षेत्रको रुपमा समेत परिचित छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार होमस्टे स्थापना गर्न इच्छुकहरु तथा सञ्चालनमा रहिरहेका तर दर्ता हुन बाँकी रहेका सञ्चालकहरुले चैत १७ गतेका मितिले १५ दिन भित्र आबेदन तथा दर्ता प्रकृयामा आइसक्नुपर्ने हुन्छ । गाउँपालिकाले ‘सिरिजङ्गाको गौरव,कञ्चनजंघा’कार्यक्रममार्फत होमस्टे स्थापना गर्नेलाई आबेदन तथा दर्ता हुन बाँकीलाई दर्ताका लागि समय दिएको हो । याम्फुदिनहुँदै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघासम्मको यात्रा तय गर्न सकिन्छ । होमस्टे स्थापना गर्न इच्छुक याम्फुदिनका व्यक्ति तथा समूहले होमस्टे सञ्चालनका लागि आबेदन गर्नुपर्ने हुन्छ भने स्थापना भइसकेका होमस्टेहरुले दर्ता प्रकृयामा सामेल हुनुपर्ने हुन्छ ।
गाउँपालिकाले होमस्टे स्थापना तथा प्रवद्र्धनका लागि होमस्टे सञ्चालन सम्वन्धी कार्यविधि २०८० जारी गरी कार्यान्वयनमा ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार आबेदकले निबेदनका साथ वडा नं ८ को वडा कार्यालयको सिफारिस,सामुदायिक होमस्टेका हकमा कम्तिमा ५ जना घरधनीले आ–आफ्नो घरमा सामुहिक होमस्टे सञ्चालन गर्न सहमत भएको लिखित प्रतिबद्धता वा निर्णय सहितको प्रति समेत संलग्न राख्नुपर्ने हुन्छ । यस्तै जग्गाधनी प्रमाणको प्रतिलिपि वा भाडामा लिएको वा कुनै सरकारी निकायले होमस्टे सञ्चालन गर्न अनुमति दिएको भए उक्त प्रकृयाको सम्झौता प्रतिलिपि र अग्रिम घरजग्गा वहाल कर तिरेको प्रमाण,सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वातारणीय रुपले कुनै हानी नोक्सानी नहुने भनी जग्गाको चारकिल्ला मुचुल्का सहितका कागजात संलग्न राख्नुपर्ने हुन्छ ।