माथिल्लो काबेली जलविद्युत आयोजनाद्धारा प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ करोडको संस्थापक शेयर जारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १५ । २८.१० मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत आयोजनाको प्रवद्र्धक पिस इनर्जी कम्पनी प्रालिले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ५ करोड सम्मको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
माथिल्लो काबेली जलविद्युत आयोजना ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माणाधिन योजना हो । चैत १२ गते प्रकाशन भएको संस्थापक शेयर प्रकाशन मितिले १५ दिनको हुने पिस इनर्जी कम्पनी प्रालिले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले संस्थापक शेयरका लागि प्रतिकित्ता एकसय रुपैैयाँका दरले कम्तिमा एकहजार कित्ता र बढीमा दशहजार कित्तासम्म खरिद गर्न पाउने भएका छन् । तोकिएको मिति भन्दा पछि शेयर दावी गर्न नपाउने कम्पनीले बताएको छ ।
कम्पनीले अधिकतम् बिक्री गर्न चाहेको रकम बराबरको शेयर पूर्ण बिक्री भएमा पहिलो निबेदनलाई प्राथमिकता दिई बाँकी निबेदनलाई रद्ध गर्ने भएको छ । यो प्रकृयामा पछि कसैले पनि दावी बिरोध गर्न नपाउने तथा दावी बिरोध आएमा कम्पनीको निर्णय नै अन्तिम हुने समेत पिस इनर्जी कम्पनी प्रालिले जनाएको छ । माथिल्लो काबेली जलविद्युत आयोजनाको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत रहेको समेत आयोजनाले जनाएको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन पूर्व आयोजना प्रभावित क्षेत्रका बासिन्दाद्धारा संस्थापक शेयर लगानीका लागि माग भई आएकोले यो शेयर प्रकाशन गरिएको समेत जनाएको छ ।