ताप्लेजुङका होटल व्यवसायीद्वारा ‘ग्रेट हिमालयन ट्रेल’ को पदयात्रामा निस्किएका महिला टोलीको स्वागत

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ४ । बृहत पदयात्रामा निस्किएका नेपाली महिला टोलीलाई ताप्लेजुङमा स्वागत गरिएको छ । ताप्लेजुङबाट सुरु हुने विश्वभर चर्चित ट्रेकिङ रुट ‘ग्रेट हिमालयन ट्रेल’ को पदयात्रामा निस्किएका महिला पदयात्री टोलीलाई सदरमुकाम फुङ्लिङमा स्वागत गरिएको हो ।
सिन्धुपाल्चोककी पर्वतारोही माया गुरुङ नेतृत्वको १२ जना नेपाली महिला पदयात्री टोलीलाई स्थानीय होटल व्यवसायीले स्वागत गरेका हुन् । होटल प्यारिजका सञ्चालक कैलास बानियाँका अनुसार पदयात्रा सफलताको शुभकामनासहित पदयात्रीलाई स्वागत गरिएको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य बोकेर बृहत पदयात्रा सुरु गरेका टोलीलाई स्वागतसँगै सदरमुकामबाट विदाइ गरिएको व्यवसायी बानियाँले बताउनुभयो ।
फुङ्लिङ बजारका होटल व्यवसायीको स्वागत र यात्रा सफलताको कामनासहित विदाइ भएपछि पदयात्री टोली घुन्सातर्फ लागेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सादेखि सुरु भई पश्चिम दार्चुला पुगेर टुंगिने बृहत पदयात्रा टोलीमा १२ जना महिला र एक पुरुष गरी १३ जना रहनुभएको छ । अन्य सहयोगीसमेत टोलीमा २४ जना रहेको पदयात्राकी नेतृत्वकर्ता गुरुङले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्यको पहिचान गर्ने र नेपालको पर्यटकीय गन्तव्य सुरक्षित तथा आकर्षक छन् भन्ने सन्देश दिने उद्देश्यले पदयात्रामा निस्किएको पर्वतारोही गुरुङले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा नेपाली महिलालाई उत्प्रेरित गर्न साथै महिलाको सामूहिक साहसको सन्देश फैलाउन पनि आफूहरु पदयात्रामा निस्किएको उहाँको भनाइ छ ।
ताप्लेजुङसहित १७ वटा हिमाली जिल्लामा फैलिएको एक हजार ७०० किलोमिटर दूरी रहेको ग्रेट हिमालयन ट्रेलको पदयात्रा १०० दिनमा पुरा गर्ने योजना रहेको पनि टोलीकी नेतृत्व गुरुङले बताउनुभयो । कम्तीमा दुई वर्षदेखि पर्यटन क्षेत्रमा पथप्रदर्शक, सहयोगी लगायतमा काम गरेका अनुभव संगालेका सदस्य टोलीमा रहेकाले लक्ष्यअनुसार पदयात्रा पुरा हुनेमा पनि आफूहरु विश्वस्त रहेकोे पदयात्री शान्ति थिङ तामाङले बताउनुभयो ।
ग्रेट हिमालयन ट्रेलको यात्रा गर्नु निकै कठिनपूर्ण यात्रा हुने भए पनि आँट, हिम्मत र शाहससहित पदयात्रामा निस्किएको १९ वर्षीय पदयात्री दीपा लामिछानेले बताउनुभयो । आठ हजार मिटर अग्लो कञ्चनजंघा, मकालु, सगरमाथा। मनास्लु, अन्नपूर्ण, धौलागिरीजस्ता हिमालको काख वा आधार शिविर क्षेत्र हुँदै गरिने पदयात्रामा निस्किन पाउनु अवसरको रुपमा लिएको पनि लामिछानेको भनाइ छ ।
यता पदयात्रा टोलीमा निस्किनुभएका सबैजना महिला सिन्धुपाल्चोक जिल्लाका हुनुहुन्छ भने दाङ, तुलसीपुरका ६५ वर्षीय सुन्दरकुमार चौधरी एकजना मात्र पुरुष पदयात्री रहनुभएको छ । महिला पदयात्रीहरु १९ देखि ४५ वर्ष उमेरका रहनुभएको छ । व्यक्तिगत खर्च व्यवस्थापनमा पदयात्रा सुरु गरिएको पनि टोली नेतृत्व गुरुङले जानकारी दिनुभयो । पदयात्रा पूरा गर्न प्रतिव्यक्ति १५ देखि २० लाख रुपियाँसम्म खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । महिला पदयात्री टोलीलाई होटल प्यारिजका सञ्चालक बानियाँ, माउन्टेन होटलका सञ्चालक विमल भण्डारी, होटल पाथीभराका सञ्चालक नन्दु बानियाँ लगायतले स्वागत तथा विदाइ गरेको हो ।