|

फुरुम्बुमा भाषण तथा उद्घोषण कलासम्बन्धी तालिम सम्पन्न

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २३ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा आयोजित पाँच दिने भाषण तथा उद्घोषण कलासम्बन्धी तालिम सकिएको छ । वडा कार्यालय फुरुम्बुको आयोजनामा गत सोमबारदेखि सुरु भएको तालिम शुक्रवार (आज) सम्पन्न भएको हो ।
तालिमका सहभागीलाई जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बू लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । यता प्रमाणपत्र वितरण तथा तालिम समापन कार्यक्रममा आफ्नो भनाइ राख्दै उपप्रमुख लिङ्खिमले तालिममार्फत सिकेको सीपलाई भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गर्नुभएको छ ।
यस्तै वडा नं १० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूले महिला सशक्तिकरण तथा क्षमता विकासका लागि तालिम आयोजना गरेको बताउँदै प्राप्त सीपको उच्चतम् उपयोगमा सहभागीले उचित ध्यान दिनुपर्ने बताउनुभयो । वडा सदस्य प्रेमबहादुर लिम्बू, वडा सचिव सचिन रेग्मी सहितले सिकेको सीपलाई ब्यवहारमा उतार्न तालिम प्राप्त गर्ने सबैलाई आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक तथा नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमबाट प्राप्त सीपलाई नियमित प्रयोग गरिरहने हो भने यसले दैनिक जीवनमा ठूलो सघाउ पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिमका सहभागीको तर्फबाट रुपा लिङ्देन, रुपमति लिम्बू, सूर्यकुमारी भट्टराई, सरगम लिम्बू, निर्मला निरौला, प्रतिभा लिम्बू र बिमला राईले आफ्नो कुरा राख्दै प्राप्त सीपको उपयोगमा ध्यान दिने बताउँदै यस्ता सशक्तिकरणका अरु कार्यक्रमको पनि आवश्यकता औँल्याउनुभयो । समापन कार्यक्रम वडाध्यक्ष लिम्बूको अध्यक्षतामा भएको थियो ।

Similar Posts