गाडी तोडफोड र चालकमाथि कुटपिट भएपछि यातायात बन्द

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ८ । ताप्लेजुङको पाथीभरा सडक खण्डमा बिहीबार रातिदेखि नै लागू हुनेगरी अनिश्चितकालीन यातायात बन्द आह्वान गरिएको छ । पाथीभरा क्षेत्रमा निर्माण सुरु गरिएको केबुलकारविरुद्ध आन्दोलनरत पक्ष नो केबुलकार समूहले गाडी तोडफोड र चालकमाथि कुटपिट गरेको विरोधमा यातायात व्यवसायीले अनिश्चितकालीन बन्द आह्वान गरेका हुन् ।
नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा केबुलकारविरुद्ध प्रदर्शन गर्नुका साथै पदयात्रा गरेका छन् । पदयात्रासँगै प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको अवस्था बुझ्न गएको मानवअधिकार र रेडक्रसकर्मीले लिएर गएको गाडी (सवारी साधन) माथि तोडफोड गर्नुका साथै चालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि व्यवसायीले बन्द आह्वान गरेका हुन् ।
बिहीबार राति नै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन् । बिहीबार रातिदेखि पाथीभरा सडकमा यातायात बन्द गराएका व्यवसायीले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी मेची राजमार्ग, तमोर कोरिडोर, धरान बसन्तपुर गुफा सडकसहित ताप्लेजुङ भित्रिने र ग्रामीण सडकमा बन्द आह्वान गरिएको छ ।
तोडफोड भएको गाडीको उचित क्षतिपूर्ति, कुटपिटबाट गम्भीर घाइते चालकको उपचार र आक्रमणमा संलग्नलाई कारबाही गर्नुपर्ने यातायात व्यवसायीले माग गरेका छन् । व्यवसायीले यातायात मजदुरको जीवन सुरक्षाकोसमेत माग गरेका छन् । यता केबुलकार निर्माणस्थलमा भएको प्रहरी र आन्दोलनकारीबिचको झडपमा प्रहरी र आन्दोलनकारीसमेत गरी १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।